नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित भए : झलनाथ खनाल



काठमाडौँ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले जनता नेतृत्वबाट काम नभएपछि बिद्रोही हुँदै गएको र निराश भएको बताए। उनले सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई जनताले साथ र स्याब्बासी दिँदै आएको बताए।

उनले देशको नेतृत्व अकर्मण्य भएको बताए। समाजवादका भाषण गरेर मात्रै नहुने भन्दै आम जनताको परिवर्तन गर्न जरुरी रहेको बताए। उनले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरु आकर्षित हुन थालेको बताए।

उनले भने, ‘जनता निराश हुँदैछन्। जनता आक्रोशित हुँदैछन्। जनता बिद्रोही हुँदैछन्। जनतामा कस्तो भावना आउन थाल्यो भन्दा एउटाले पागलपनका साथ के भन्छ भन्दा मलाई यस्तो गर्ने, म तेरो सिंहदरबारमा आगो लगाउँछु भन्छ। आधा घण्टामा ३० हजारले लाइक गरे। कस्तो अचम्म। स्याब्बास गर्छन् सिंहदरबार जलाउँछु भन्दा। कस्तो मनस्थिति पैदा हुन थाल्यो देशमा। यो कसले गर्दा भएको? के बालेनले गर्दा हो? त्यो खुकुरी नचाउनेले गर्दा हो? होइन।’

उनले थपे, ‘त्यस्ता चिजहरु किन जन्मिँदैछन् भन्दा यो देशको नेतृत्व अकर्मण्य भयो। दिशाहीन भयो। यसले यो देशलाई दिशा दिन सकेन। आम जनताको परिवर्तन गर्न सकेन। समाजवादका भाषण गरेर मात्रै त हुँदैन नि। नीतिमा ल्याउनुपर्छ, कार्यक्रममा आउनुपर्छ। योजनामा आउनुपर्छ। अहिले यस्तै कारणले विकृति फैलिरहेका छन्। मान्छेले भोट हाल्नु भन्दा राप्रपालाई पो हाल्न थाले। हिजो ३० वर्ष तानाशाही शासन गरेको होइन, उनीहरुले। ३० वर्ष तानाशाही शासन गर्नेलाई अहिले मान्छेले माया पो गर्न थाले। अनि त्यो रास्वपा भन्ने के हो के हो कसैले चिनेको पनि छैन। मान्छेले त्यतैतिर भोट हाल्न थाले। किनभने मेजर पार्टीले गरेनन्। स्थापित पार्टीले नगर्दा मानिसहरु त्यतातिर गइरहेका छन्।’

पूर्वप्रधानमन्त्री खनालले अहिले देखिएका सबै समस्यालाई समाधानतर्फ लैजाने भनेको समाजवाद मात्रै भएको बताए।

प्रतिक्रिया दिनुहोस्