सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नु हो :  डा. ओम मूर्ति अनिल



काठमाडौँ। 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले जीवनमा सम्बन्धको अर्थ मूल्यवान् हुने बताएका छन्। उनले  आफ्नो  बुवालाई गुमाएपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति महत्त्वपूर्ण  हुने रहेछ भन्ने आफूले बुझेको बताए। जीवनमा भौतिक सुखमा मात्र रमाउने होइन, सम्बन्ध परिचालन गर्न सक्नुपर्ने उनको भनाइ छ।

शुक्रबार  ‘जीवन्त सम्बन्ध’ पुस्तकको आवरण  सार्वजनिक  गर्दै  लेखेक डा. ओम मूर्तिले भने, “‘जीवनमा सम्बन्धको अर्थ कति हुन्छ भन्ने विषयलाई मैले पुस्तकमा समावेश गरेको छु। खासमा जब मैले मेरो बुवालाई गुमाए त्यसपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति हुने रहेछ भन्ने बुझ्ने मौका पाएको थिएँ। मेरा यस्तै अनुभवहरुलाई पुस्तकमा उतार्ने प्रयास गरेको छु।’

सम्बन्धहरूको गहिराईलाई केलाउँदै व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायतका विषयमाथि केन्द्रित रहेर लेखिएको उक्त पुस्तक २०८० असोज ५ गते शुक्रबारबाट बजारमा आउने उनले बताए।  उक्त पुस्तकको आजैदेखि अनलाइन बुकिङ खुला गरिएको पनि उनले जानकारी दिए।

२४० पृष्ठको उक्त पुस्तकको मूल्य एक हजार तोकिएको छ।   तर, कभरबिना पुस्तक किन्न चाहनेहरुले ६०० रुपैयाँमा समेत पुस्तक किनेर पढ्न सकिने जनाइएको छ। पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा ओम फाउन्डेशनमार्फत् खर्च गरिने लेखक डा ओममूर्तिले जानकारी दिए।

डा ओम फाउन्डेसनले प्रकाशन गरेको पुस्तक दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमा अर्डर गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्