कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत



काठमाडौँ।

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताएका हुन् । उनले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए । आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उनले बताए । उनले शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने बताए ।

उनले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास गरेको पनि बताए । मन्त्री बस्नेतले केही दिन अघि कान्ति बाल अस्पतालमा आकस्मिक उपचार नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा सम्बन्धित स्वास्थ्यकर्मीको कमी, कमजोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडी बढेको बताए ।

मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु पनि पूर्वशर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताए । उनले विभिन्न बाहानाबाजी गरेर चिकित्सकहरु सुविधासम्पन्न ठाउँमा बसिरहने प्रवृत्ति रहेको पनि उल्लेख गरे । मेडिकल बोर्डले समेत सम्बन्धित चिकित्सकहरुलाई बिरामी भएको प्रमाणित गरिदिने गरेको भन्दै अहिले सरकारले त्यसरी मेडिकल बोर्डले दिने प्रमाणपत्रलाई बन्द गरेको बताए । त्यसैगरी डाक्टरले दिने प्रस्किप्सनको समेत अडिट हुने गरेको उनले बताए।

मन्त्री बस्नेतले सरकारले कडाइ गरेका कारण अहिले भने दुर्गम ठाउँमा चिकित्सकहरु जाने गरेका बताए ।

प्रतिक्रिया दिनुहोस्