न्याय सेवालाई प्रभावकारी बनाइनेछ :  कानुनमन्त्री गुरुङ 



स्याङ्जा। 

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले न्यायिक सुधार गर्न योजनाबद्ध विकासको थालनी भएको बताउँदै बक्यौता मुद्दाको शीघ्र फछर्योट गर्न समय निर्धारण गरी सर्वोच्च अदालत अग्रसर रहेको जानकारी गराएका छन्। मन्त्री गुरुङले न्यायाधीशको नियुक्ति न्यायोचित ढङ्गबाट गर्ने कार्य भइरहेको बताउँदै भागबन्डाबाट नहुने उल्लेख गरे । जनतालाई छिटोछरितो र सहज ढङ्गले निष्पक्ष न्याय प्रदान गर्नका लागि सरकार लागिपरेको बताउँदै उनले न्याय सेवालाई प्रभावकारी बनाउन यही भदौ ११ गतेदेखि सर्वोच्च अदातलमा स्वचालित पेसी तारिख प्रणाली लागू भएको र आवश्यक पूर्वाधारको तयारी भइरहेकाले क्रमशः अन्य अदालतमा पनि लागू हुने जानकारी गराए ।

मन्त्री गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गरेका छन् । नेपाली काँग्रेस स्याङ्जाले स्याङ्जा सदरमुकाममा बिपी कोइरालाको १ सय १०औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘बिपी विचार गोष्ठी’ कार्यक्रममा उनले सुशासन कायम गराउने सन्दर्भमा कसैलाई पनि छाड्न हुन्न भन्ने पक्षमा आफू रहेको बताएका हुन् । “सुशासन कायम गर्ने क्रममा ठूला फाइलहरु खोल्दा सरकारलाई घेराबन्दी हुन पनि सक्छ”, उनले भने, “सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैन ।” कुनै पनि पार्टीको मुख नहेरी जो सुकै भए पनि भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीमा ल्याउनैपर्छ भन्ने पक्षमा आफू सदैव उभिने उनको दाबी थियो ।

“भोलि सरकार रहला नरहला, म पदमा रहुँला नरहुँला त्यसले केही फरक पार्दैन”, उनले भने, “तर भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो जो सुकै भए पनि कानुनी दायरामा ल्याउनै पर्छ भन्ने पक्षको अडानमा म रहन्छु ।” काँग्रेसका केन्द्रीय उपसभापतिसमेत रहेका  मन्त्री गुरुङले विपीले देखाएको मार्गदर्शनमा हिँड्न सके ठिक र हिँड्न नसक्नेहरु गलत हुने बताए । “विपीले देखाएको मार्गदर्शनलाई व्यवहारमा कार्यान्वयन गर्न नसके काम छैन”, उनले भने, “बोलेरभन्दा पनि कर्मबाट विपीका मार्गदर्शनहरुलाई पछ्याउँदै हिँड्न सकेको खण्डमा सफलता प्राप्त हुन्छ ।”

प्रतिनिधिसभा सदस्य एवं काँग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापाले आज पनि विपीका सिद्धान्तहरु उत्तिकै सान्दर्भिक रहेको बताए । विचार गोष्ठीमा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याल, महेश भट्टराई, गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य भागवतप्रकाश मल्ल लगायतले मन्तव्य व्यक्त गरेका थिए । काँग्रेस स्याङ्जाले पार्टी कार्यालय स्याङ्जामा खुल्ला रक्तदानसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्