चीन भ्रमण विश्वास बढाउनका लागि उपयोग गर्न प्रमलाई सुझाव



काठमाडौँ।

असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर चीन जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई चीन भ्रमण आपसी विश्वास बढाउनका लागि उपयोग गर्न कुटनीतिज्ञहरुले सुझाव दिएका छन् ।

सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडरालिज्मले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कुटनीतिज्ञ मधुरमण आचार्यले चीनसँग विश्वासको संकट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले भ्रमणमा सबैभन्दा पहिला विश्वासको वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याए । उनले भने– ’सम्झौताहरु मात्र गरेर के गर्ने ? कार्यान्वयन हुने होइन, एउटा सरकारले गरेको सहमति अर्कोले तोड्ने प्रचलन छ । पहिला सहमति तथा सम्झौताहरु कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउनुपर्यो ।’

कार्यक्रममा उनले रसुवागढी नाकामा चीनतर्फको पूर्वाधार र नेपालतर्फको पूर्वाधारलाई तुलना गर्दै भने – उनीहरुको तर्फ हेर्दा पूर्वाधार निकै विकसित छ, हाम्रोतर्फ भने हिंड्न समेत पनि अप्ठेरो बाटो अनि चेकजाँच र भन्सार समेत टहरामा दयनीय अवस्थामा संचालन भइरहेको छ । पहिला आफूले पनि सक्ने गर्नुपर्यो, अनि मात्रै अरुसँग भन्ने हो । सबै चीनले नै गरिदिन्छ भन्ने मनस्थितिले न त सम्बन्ध सुधार हुन्छ, न त पूर्वाधार ।’

कार्यक्रममा अर्का कुटनीतिज्ञ दिनेश भट्टराईले चीनको बीआरआई परियोजनाको बुझाइमा नै फरक परेको भन्दै पहिला आफैं प्रस्ट भएर चीनसँग हाम्रो धारणा प्रस्टसँग राख्नु सक्नुपर्ने आवश्यकता औंल्याए । उनले हाम्रो आवश्यक्ता र अपेक्षा यो यो हो भनेर प्रस्टसँग भन्न सक्नुपर्ने बताए । उनले नयाँ सहमति र सम्झौताभन्दा पहिले भएका सहमति र सम्झौता कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडरालिज्मल कार्यकारी अध्यक्ष एवं पूर्व राजदूत विजयकान्त कर्णले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण नेपाल र चीनबीचका मुद्दाहरु सल्टाउन सहयोगी सिद्ध हुने विचार व्यक्त गर्दै भ्रमणबाट महशुस हुनेगरी लाभ लिन प्रशस्त छलफल र पूर्व तयारी हुनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा नेपाल–चीन सीमापार विद्युत प्रसारण लाइनसम्बन्धी सम्झौता हुनसक्ने तथा रसुवागढी–केरुङ तथा संखुवासभा–तिब्बत विद्युत प्रसारण लाइन निर्माणबारे पनि सम्झौता हुनसक्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्