विकृति बढ्नु अवनति कि उन्नतिको संकेत ?



हाम्रो समाजमा अझै पनि राम्रा–राम्रा संस्कारहरु हराएका छैनन् । तर विदेशमा हेर्ने हो भने, एकै परिवारका सदस्यहरु पनि समय अनुसार चाँडै अलग्गिएर जान्छन् । हाम्रो देशमा जसरी बाबुआमाले आफ्ना बालबालिका हुर्काउँछन्, त्यसरी नै आमाबाबुलाई पनि प्रायः यहाँका मानिसहरुले उनीहरुको मृत्यु नहुन्जेल हेरचाह गरेका हुन्छन् । यहाँ भन्न खोजिएको कुरा के भने, यस्ता राम्रा संस्कारहरुको हरेक क्षेत्रमा विकास हुनुपर्छ । तर आजभोलि हाम्रो मुलुकमा सबै स्वार्थ र पैसाको पछि दौडिराखेको देखिन्छ । यसरी सबै पक्षहरु आफ्नो कर्तव्य र दायित्वबाट पन्सिराख्ने हो भने मुलुकले उन्नति कहिले पाउने ? मुलुकमा सबथोक हुँदा पनि अहिले हाम्रो हात खालीसरह भइराखेको छ ।

अहिले मुलुकको अवस्थालाई नचाहेर पनि भन्न कर लाग्छ– जब बाबु भँडुवा हुन्छ तब उसका सन्तान–आसेपासे पनि लडुका हुन्छन् । जस्तै– अहिलेका जल्दाबल्दा कुराहरुमा गाईगोरुको मासु खाने कुराहरुलाई नै लिऊँ । यी सब हाम्रो देशमा बाबुआमाबाट राम्रो संस्कार नपाउनु, सरकारहरु नराम्रो हुनु तथा जनता आशिक्षित हुनुका कारण नै मान्न सकिन्छ । सरकारले नागरिकका लागि कर्तव्य निर्वाह गर्नु उसको दायित्व हो । यस्ता गाईगोरुका विषयमा हुने कलहलाई रोक्नुपर्छ अनि मात्र मुलुक शान्त हुने हो । किनकि यहाँ बस्ने सबै नेपाली हुन् । मिलेर बस्नुपर्छ । हाम्रो देशमा एउटा अर्को विडम्बना पनि छ । हामी प्रायः नेपाली जात, व्यक्ति, समाज, मुलुकको लागि योगदान गर्न नरुचाउने, आफ्नो गल्ती स्वीकार नगर्ने तर अरुको खेदो खन्ने र अरुको गल्तीमात्र औंल्याउने कुरामा माहिर छौं ।

यस्ता कुसंस्कारहरुलाई समाजमा भएका राम्रा मानिसहरुले चाहेर पनि मेटाउन सकिराखेका छैनन् । यसबाहेक प्रायः कार्यालय, सामाजिक सञ्जालमा पनि कलहहरु भइराखेको हामी पाउँछौ । तर जति कलह गरे पनि यो मुलुकमा समस्याको समाधानचाहिँ नहुने रहेछ । कारण नेपाली जनता, सरकार, नेताहरुले कानमा तेल हालेसरह गरेर बसेको हुन्छ । न त सरकारहरु देशप्रति जिम्मेदार छन् । न सरकारी कर्मचारी, न त जनता नै, सबैको आफ्नो ठाउँमा अवगुणहरु छन् । यो मामलामा तराजुमा यिनीहरुलाई जोख्ने हो भने सबै बराबर हुन्छन् ।

आजभोलि हाम्रो देशमा गालीको पनि निकै विकास भइराखेको छ । हामी नेपालीहरु गालीमात्र गर्न पायौं भने भातको सट्टा गालीले नै आफ्नो पेट भरिराखेको महसुस गर्छौं । गालीमात्र गरे हुन्थ्यो, त्यसमाथि फोहोरी शब्द, अश्लील शब्द, अपशब्द बोलेर परिवार तथा समाजलाई नै नरमाइलो वातावरण बनाइराखेका पाइन्छ । देशमा चाहिने विकास भने कम हुने तर यस्ता कुराहरुको विकासचाहिँ तीव्ररुपमा भइराख्ने हो भने भोलिको हाम्रो समाज र मुलुकको भविष्य के हुने हो ? थाहा छैन । यदि यतिको लागि यी स्थार्थी नेताहरुले लोकतन्त्र, गणतन्त्र, संघीयता ल्याएको रहेछ भने चाहिएन यस्ता पाखण्डीतन्त्रहरु । हामी जस्तो हालमा छौं, हामीलाई त्यस्तै छोडिदिए हुन्छ ।

अहिलेको परिप्रेक्ष्यमा विकास हुनुपर्ने कृषि, जलस्रोत र पर्यटन नै हो, जुन असम्भव पनि छैन । यसका लागि नेताहरु परिवर्तन हुनुपर्छ । अथवा जनता परिवर्तन भएर सही र राम्रा व्यक्तिहरुलाई कुर्र्सीमा राख्नुपर्छ । हाम्रै गल्तीका कारण चार वर्ष अझ कुर्नुपर्ने भयो, त्यो पनि ठेगान छैन । तर अब आउने चुनावमा नागरिकहरुले गल्ती नगरौं । अब पनि भविष्यमा यी नेताहरुको नै राज हुने हो भने यहाँका जनतालाई पनि स्वार्थी, निकम्मा, अल्छी भातमाराभन्दा केही फरक नपर्ला ।

वास्तवमा भन्ने हो भने, लोकतन्त्रपश्चात् मुलुकमा विकास नै भएको छैन भन्न पनि मिल्दैन । तर केही खराब तत्व तथा लुट र कलहले गर्दा अझ विकास हुनबाट रोकिएको छ । यो बाहेक देशमा कहिले हत्या, कहिले बलात्कार, कहिले सुनकाण्ड, कहिले भुटानी शरणार्थी काण्ड, कहिले ललिता निवास जग्गा प्रकरण काण्ड र अहिले आएर गाईगोरु काण्ड आदि कारणहरुले गर्दा नेपालीमा दरिद्र सोचको निकै विकास देखिन्छ । फेरि एकपल्ट भन्नुपर्दा अबउप्रान्त यस्ता घिनलाग्दा प्रक्रिया हुन नदिन सबै नागरिक एकजुट हुन जरुरी छ ।

हुन त देशमा अहिलेसम्म जुन फरक–फरक तरिकाले देशमा अशान्ति मच्चिराखेको छ, यसमा देश चलाउनेहरुको धेरै दोष छ भने नागरिकहरुको पनि शिक्षाको कमी, अल्छीपना, स्वार्थ, अल्लड, बेवास्ताले गर्दा दोष देखिन्छ । तर अब मुलुकमा शान्ति र धेरै विकासको चाहना राख्ने हो भने हामीले नेताहरुलाई गाली गर्ने होइन, यिनीहरुलाई हराउने हो ।

अहिलेको परिप्रेक्ष्यमा एउटा कुरा व्याख्या गर्न चाहन्छु । गलत अकुत सम्पत्ति कमाउनु, खाने–पिउने कुरामा कलह गर्नु र खराब मान्छे भएर बाँच्नु राम्रो कुरा होइन । यो बाहेक अतीतका दिनमा जति गल्ती गरे पनि अब भने सच्चिएर मुलुक र समाजको लागि राम्रो काम गर्नुपर्दछ । यही नै उसको प्रायश्चित्त हुनेछ । वास्तवमा भन्ने हो भने, यो मुलुकमा अझै दुईवटा राज बाँकी छ । एउटा दानवराज जति लुटे पनि हुने, जे बोले पनि हुने र अर्को मुर्दाराज जति अन्याय भए पनि सहेर बस्ने । अन्त्यमा एउटा कुरा पोख्न चाहन्छु । महँगी, घरखर्च, व्यापारीको समस्या आदि कारणले गर्दा मानिसहरुले आफ्नो जीवनलाई निरसमय सम्झेका छन् । त्यसैले सब मिलेर यस्ता समस्यालाई निर्मूल गर्नु जरुरी छ ।

हुन त एक किसिमले हेर्दा विकृति बढ्नु अवनति अर्थात् अधोगतितिर उन्मुख हुनु हो भने अर्कोतर्फ उन्नतिको संकेत पनि हो । किनकि विकृति बढ्दै जाँदा त्यसको विरुद्ध जनता उठ्छन् र फलस्वरुप विकृति ल्याउनेहरु पराजित भई मुलुक र समाजको उन्नति पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्