‘बीपीले नपाएका १५ वर्ष’- बीपीको समाजवाद छाडेको भन्दै कांग्रेसको तीव्र आलोचना



काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईराला (बीपी)को १११ औंं जन्मजयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा अधिकांश वक्ताहरूले नेपाली कांग्रेसको तीव्र आलोचना गरेका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार आयोजित बीपी साहित्य महोत्सवअन्तर्गतको ‘बीपीले नपाएका १५ वर्ष’ शीर्षकको सत्रमा भएको वैचारिक बहसमा सहभागीहरूले बीपीको समाजवादलाई नेपाली कांग्रेसले पूरै छाडिसकेको टिप्पणी गरेका थिए । छलफलमा राजनीतिक विश्लेषक मञ्चला झाले २०१५ सालमा बीपीले बिर्ता उन्मूलनको कानुन ल्याएर ‘जसको जोत उसको पोत’ भन्ने नारालाई साकार बनाएको जिकिर गर्दै भन्नुभयो– ‘यदि, बीपीले १५ वर्ष देशको नेतृत्व गर्न पाउनुभएको भए अहिले देखिएको गरिबी, अशिक्षा, बेरोजगारी समस्या नै हुने थिएन ।

मिटरब्याजी पीडित हुने थिएनन्, युवाहरू विदेशिनुपर्ने थिएन, नक्कली सुकुम्बासी र सुन तस्करहरू हुने थिएनन् ।’ बीपीको समयपछि पनि कांग्रेसले बीपीको समाजवादलाई अंगीकार गर्न सकेको भए मुलुकले निकैअघि फड्को मार्ने दाबी गर्दै उहाँले त्यसबेला महामानव बीपी कोइरालाले राणा र राजाहरूको दबदबाको प्रवाह नगरी जनताका छोराछोरीले पढ्न पाउनुपर्छ भनेर सरकारको नेतृत्व गरेको एकै वर्षमा १६ सय विद्यायलयहरू स्थापना गर्ने हिम्मत गरेको चर्चा गर्नुभयो । अहिलेका नेताहरूमा सोचको शून्यता देखिएको टिप्पणी गर्दै उहाँले कांग्रेसले बीपीको बाटोलाई थोरै भए पनि अंगीकार गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

२०१५ सालका नेपालको इतिहासमै पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई २०१७ पुस १ मा तत्कालीन राजा महेन्द्र शाहले ‘कू’ गरेको थियो । सो समयमा बीपी निर्वासन र जेलमा रहेकाले पूर्ण कार्यकाल प्रधानमन्त्री चलाउन पाउनुभएन । अर्थविद् एवं विश्लेषक अच्युत वाग्लेले करिब १८ महिना शासन गर्न पाएका बीपीले नेपालको चौतर्फी विकासका कामहरू शुरू गर्नुभएको चर्चा गर्नुभयो । बीपीको राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको नीति अहिलेका दलहरूले पर्खाल बाहिर राखेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘राजनीतिक स्वतन्त्रता र आर्थिक समानता अहिलेको राजनीतिक नेतृत्व बाहिर छ । कांग्रेसले बीपीको समाजवादको केही अंशहरू आर्थिक उदारीकरण, किसान नीति र स्वदेशमै उत्पादन वृद्धिको विषयलाई मात्रै ग्रहण गर्न सक्यो भने नेपालको आर्थिक अवस्था सुधारमा निकै टेवा पुग्छ ।’

महामन्त्री गगन थापाले सहजीकरण गरेको उक्त बहसको प्रश्नोत्तर शृङ्खलामा राजनीतिक विश्लेषक हरि शर्मा, संविधानविद् विपीन अधिकारी, अर्थविद् र मधेसको प्रतिनिधित्व गर्ने राजनीतिक विश्लेषक मञ्चला झाले बीपीको योगदान र वैचारिक पक्षमा बहस गरेका थिए ।

नेपाली कांग्रेसले विशेषगरी युवाहरूलाई बीपीको वैचारिक र साहित्यिक धारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको साहित्य महोत्सवमा हजारांै कार्यकर्ता तथा नेताहरूको सहभागिता रहेको छ । उक्त छलफलमा बीपीको जसरी बयान र प्रशंसा गरिएको छ, त्यसैको ठीकविपरीत कांग्रेसको आलोचना गरिएको छ ।

बहसमा राजनीतिक विश्लेषक हरि शर्माले कांग्रेसको वर्तमान नेतृत्व र नेतृत्वउन्मुख नेताहरूले नै बिर्सिएको बीपीको बाटोलाई पहिल्याउन सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । अहिले नेतृत्वमा विवेक, मन्थन र अनुसन्धान सत्ताको पर्खाल बाहिर रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो–‘सत्ताको राजनीति पर्खालभित्र वैचारिक, सैद्धान्तिक, जनजीविकाका सवालहरू तथा विवेक, मन्थन र अनुसन्धानको पक्षबाहिरै रहेकाले अबको नेतृत्वले त्यसलाई बुझ्न सक्ने र सुन्न सक्ने हुनुपर्छ ।’

संविधानविद् विपीन अधिकारीले वर्तमान संविधानले नागरिकका अधिकारहरू सुनिश्चित गरे पनि नेतृत्वकै अदुरदर्शीताका कारण ती अधिकारहरू नागरिकले उपयोग गर्न नपाएको बताउनुभयो । संवैधानिक अधिकारबिना पनि बीपीले नागरिकलाई अधिकार सम्पन्न गर्नुपर्छ भनेर लाग्नुभएको प्रसंग उठाउँदै उहाँले भन्नुभयो– ‘बीपीका जीवन पद्धति र समाजका लागि गरेको योगदानका दृष्टिले उहाँ पुनर्जागरणको प्रतीकका रूपमा हुनुहुन्थ्यो । तर, मुलुकको ठूलो ऊर्जा जेलमा बस्नुप¥यो ।’ त्यसबेला राजाले मसँग विकल्प छन् भने पनि खासै विकल्प दिन नसकेको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘राजासँग त केही विकल्प थिएन, खाली सत्ता मात्रै चाहिएको थियो ।’ बीपीले १५ वर्ष काम गर्न पाएको भए सामाजिक न्याय, भूमि सुधार, आधारभूत शिक्षा लगायतमा उपलब्धिमूलक कार्य हुने र त्यसले जनतालाई उज्ज्वल भविष्य दिने अधिकारीले दाबी गर्नुभयो । अधिकारीले नेतृत्व तहमा पुग्न खोज्ने कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका युवा नेताहरूले आफ्ना योजनाहरू जनतालाई नढाटीकन अगाडि प्रष्टसँग राख्न सक्नुपर्ने र देशको नेतृत्वमा पुगेको यति समयभित्र मुलुकको अवस्था यहाँ पु¥याउन सक्छु भनेर काम गरेर देखाउन सक्नुपर्ने धारणा राख्नुभयो ।

बीपीपुत्र एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री सशांक कोइरालाले यो साहित्य महोत्सवले बीपीको उचाइमा अझ ओज थपेको जिकिर गर्दै नेपाली कांग्रेसमा रूपान्तरण आवश्यक रहेको बताउनुभयो । साहित्य महोत्सवमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल गरेर बीपीले नपाएका १५ वर्ष शीर्षकको सत्र राखिएका थिए । उक्त सत्र बीपीलाई बुझ्न चाहनेहरूका लागि निकै उपयोगी भएको सहभागी नेता कार्यकर्ताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्