सिंगटीको पीडा- बग्ने खतरामा तपतपे, खोलिखिम बजार जोखिममा



दोलखा । बस्तीमाथिको ढुङ्गा बग्न थालेपछि दोलखाको उत्तरी सिंगटी खोलिखिम बजारका ७८ भन्दा बढी घरधुरी उच्च जोखिममा परेका छन् । दोलखाको विगु गाउँपालिका–४ माईथानमा रहेको तपतपे ढुङ्गा बग्न थालेपछि सिंगटीको खोलिखिम बजार जोखिममा परेको हो ।

गत वर्षबाटै तपतपे ढुङ्गामा हलचल शुरू भए पनि केही दिनको अविरल वर्षाले गत भदौ ९ गते रातिबाट आसपासको माटो बगेपछि तपतपे ढुङ्गा झन्डै १५ मिटर सरेको स्थानीयले बताएका छन् । विगु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहयोग र समन्वयमा उक्त ढुङ्गालाई ब्लास्टिङ गरेर हटाउने तयारी गरेको भए पनि प्राविधिक कारणले काममा ढिलाइ भएको र स्थानीय त्रासमा रहनुपरेको पालिका प्रमुख सञ्जीव ओलीले बताउनुभयो ।

विगतमा उक्त ढुङ्गाबाट पानी रसाउने भएकाले स्थानीयले त्यसलाई तपतपे ढुङ्गा भन्न लागेका हुन् । ढुङ्गा आसपास नागदेवता रहेको विश्वासमा स्थानीयले पूजासमेत गर्दै आएका थिए । ढुङ्गा व्यवस्थापनको तयारीका क्रममा स्थानीयले क्षमा पूजा गरेका छन् ।

ढुङ्गा खस्ने त्रास बढेपछि अहिले विगु गाउँपालिकाको पहलमा खोलिखिमका ३२ घर धुरीका बासिन्दालाई अन्यत्र सारिएको पालिका प्रमुख ओलीले बताउनुभयो । ‘हामी सकेसम्म छिट्टै ढुङ्गालाई ब्लास्टिङ गरेर व्यवस्थापन गर्ने तयारीमा लागेका छौं तर प्राविधिक कारणले काममा ढिलाइ भइरहेको छ’ –पालिका प्रमुख ओलीले भन्नुभयो । ढुङ्गा व्यवस्थापनअघि नै दुर्घटना भयो भने ठूलो क्षति पुग्न सक्ने पालिका प्रमुख ओलीको चिन्ता छ ।

नेपाली सेनाको रेकी

नेपाली सेनाको तारादल गणको सेनानी गजेन्द्र दहितको समन्वयमा काली सिद्धी गणका इन्जिनियर सेनानी प्रभात सिंह, सहसेनानी सुजिनजंग शाही, जमदार रामकुमार राई र सिपाही खुमबहादुर डाँगी तथा अर्जुन घिमिरेको प्राविधिक टिमले गरेको रेकीमा उक्त ढुङ्गा भएको ठाउँमा पहिरो गयो भने ३ सय ५० मिटर तल सिंगटी बजारमा रहेको करिब २० घरमा क्षति हुने तथा ढुङ्गाले नदी थुन्यो भने बजारका ७८ घरमा क्षतिपुग्न सक्ने रिपोर्ट दिएको पालिका प्रमुख ओलीले बताउनुभयो ।

अपर तामाकोशी हाइड्रोपावरको अध्ययन

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले समेत उक्त ढुङ्गा बग्न सक्ने अवस्थाको बारेमा अध्ययन गरेको र १८ मिटर लम्बाइ, १४ मिटर चौडाइ र ८ मिटर गहिराइको उक्त ढुङ्गा खस्यो भने सिंगटी बजारमा ठूलो क्षति हुन सक्ने रिपोर्ट दिएको पालिका प्रमुख ओलीको भनाइ छ ।

तत्काल व्यवस्थापन हुन्छ

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले ढुङ्गाले पार्ने क्षतिको बारेमा नेपाली सेनाले रेकी गरेर त्यसको व्यवस्थापनका लागि इन्जिनियर सेनानी प्रभात सिंहको कमान्डमा तारा दल गणको अप्रेसन अधिकृतसमेत सहभागी रहने गरी टोली बनिसकेको बताउनुभयो । ढुङ्गा व्यवस्थापनका लागि ब्लास्टिङको कामसमेत गर्नुपर्ने र त्यसको लागि नेपाली सेनाको चिफकै अनुमति आवश्यक भएकाले प्रधानमन्त्री कार्यालयमार्फत् नै अनुमतिको प्रक्रिया अघि बढी सकेकाले आज वा भोलिसम्ममा व्यवस्थापनको काम अघि बढ्ने प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो ।

पूर्वमन्त्री र प्रदेश सांसदको स्थलगत भ्रमण

तपतपे ढुङ्गा खस्न लागेको माईथानमा पूर्वमन्त्री एवं एमाले नेता पार्वत गुरुङ, प्रदेश सांसद भरतबहादुर केसी, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, विगु गाउँपालिकाका प्रमुख सञ्जीव ओली, उपप्रमुख देविका थामी, कालिञ्चोक गाउँपालिकाका उपप्रमुख एवं नेकपा माओवादी केन्द्रको दोलखा संयोजक कुलबहादुर बुढाथोकीलगायतले शुक्रबार स्थलगत भ्रमण गरी जानकारी लिनुभएको थियो ।

पूर्वमन्त्री गुरुङ र प्रदेश सांसद केसीले सरोकारवाला निकायलाई टेलिफोन सम्पर्कमार्फत् ढुङ्गा व्यवस्थापनको कामलाई तत्कालै शुरू गर्न अनुरोध गर्नुभएको थियो । उहाँहरूले पहिरोबाट आधा दर्जन घरहरू विस्थापित बनेको विगु–४ कै ओलीटारको समेत स्थलगत भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्