सुन तस्करीमा दावासँग कनेक्सन भएकाहरूको पर्दा खुल्दै, वर्षमानका भाइ प्रनिशको भियनामा लगानी



काठमाडौं । गत साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएलगत्तै समातिएको ६१ किलो सुन प्रकरणले अहिले राजनीति र अपराध जगत्को अन्तरसम्बन्ध उजागर हँुदै गएको छ । सुन तस्करीमा सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी) केन्द्रका नेताहरूको एकपछि अर्को संलग्नता देखिनुले यस प्रकरणमा पूर्णरूपमा राजनीतिक कनेक्सन रहेको देखिएको हो ।

हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानमा एयर कार्गोमार्फत स्कुटरको पार्टपुर्जामा लुकाएर ल्याएको एक क्विन्टल सुन तस्करीका मुख्य नाइके दावा छिरिङ नामका एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि तस्करसँग नेताहरूको सम्बन्धको पर्दा विस्तारै उघ्रन थालेको अनुसन्धान अधिकारीहरूले बताएका छन् । नेपाल र बेल्जियमको पासपोर्ट बोक्दै आएका दावा छिरिङले नेताहरूकै सेटिङमा नेपाली नागरिकता लिन सफल भएका थिए । दावासँग माओवादी नेता वर्षमान पुन, ओनसरी घर्तीलगायत नेताहरूले खाना खाँदै गरेको तस्विर सार्वजनिक भएपछि प्रहरी अनुसन्धानको विषय बनेको यो घटनामा उनीहरूको संलग्नता रहेको आशंकाहरू उत्पन्न भएका छन् ।

यो काण्डमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वअर्थमन्त्री एवं सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनसहित उहाँको परिवारका सदस्यहरूको संलग्नता आशंकामा सूक्ष्म अनुसन्धान अघि बढाएको नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोका एक अधिकारीले बताए । व्यापारिक साझेदारीदेखि बिचौलियाको भूमिकासम्म उनीहरूको संलग्नता आशंका गरिएको छ । वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगर सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको छ भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश यो गिरोहलाई सहजीकरण गर्न भूमिकामा देखिएका छन् । वर्षमानका भाइ प्रनिशको भियना मल्टिपर्पोज ग्रुपमा लगानी रहेको देखिएको छ ।

नन्दबहादुरका छोरा दीपेश गिरोहका सदस्यसँग हेलिकोप्टरमार्फत् गोसाइँकुण्डसम्म गएको सूचना सार्वजनिक भएको छ । दावाकी पत्नी अमला रोकासहित एउटा चिनियाँ समूहलाई लिएर मनाङ एयरको हेलिकोप्टरमा गएको पाइएको हो । माओवादीका पूर्व डेपुटी–कमान्डरसमेत रहेका नन्दबहादुर र वर्षमानसहितको संलग्नतालाई वर्तमान सरकारले कसरी लिएको छ भनेर आमरूपमा नजिकबाट हेरिएको छ । दीपेश माओवादी भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिवको जिम्मेवारीमा हुनुहुन्छ ।

यसअघि दुबईबाट २०७९ पुस १० मा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पुत्र राहुल महराको संलग्न देखिएको थियो । उक्त प्रकरणमा नेता महरा बाबुछोराको संलग्नता देखिएको प्रहरीले प्रतिवेदन नै सार्वजनिक गरे पनि निजलाई सरकारले संरक्षण गरेको चौतर्फी आलोचना र विरोध भएपछि महरा पुत्र राहुललाई प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा सत्तारुढ दलका नेताहरूकै संलग्नता देखिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै एक महिनासम्म सदन अवरुद्ध गरेको थियो ।

संसद्को अवरोध हटाउन सरकारले भदौ ६ गते उच्च स्तरीय जाँचबुझ आयोग बनाउने उधारो सम्झौता गर्दै प्रतिपक्षी दल एमालेलाई संसद् खुलाउने विषयमा सहमतिमा ल्याएको थियो । ६१ किलो सुन तस्करीलगायत यस अघि पटकपटक भएका सुन तस्करीसम्बन्धी सबै प्रकरणको छानबिन गर्न असोज ५ मा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूबीच सहमतिमा हस्ताक्षर भएको छ । सुन तस्करीमा सरकारको नेतृत्वकर्ता दलकै नेताहरूको संलग्नता खुल्दै गएपछि माओवादी पार्टीका नेताहरूबीच समेत कारबाही गर्ने र कारबाही गर्नु नपर्ने दुई धारमा विभाजन हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्