आज ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उदघाटन



काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उदघाटन हुने भएको छ ।

आज (शनिबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त अभियानको उदघाटन गर्ने पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान‘को भर्चुअलमाध्यमबाट देशभरिका सबै वडाहरूमा एकसाथ उदघाटन गर्ने सापकोटाले बताए ।

पार्टी वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ बजे भर्चुअलमाध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडावाट अध्यक्ष प्रचण्डले सो सम्बोधन गर्नेछन् ।

त्यसअघि प्रचण्डले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कबाट अभियानको उदघाटन तथा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार अध्यक्षको उक्त सम्बोधन फेसबुक, युट्युवलगायतका बिभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्