सुन तस्करीमा मुछिएका महरापुत्र राहुल पक्राउ- ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । इलेक्ट्रिक सिगरेट(भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा मुछिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी)ले बुधबार पक्राउ गरेको छ ।

उक्त सुन तस्करीमा कृष्णबहादुर महरा र उहाँका छोरा राहुल मुछिंदै आएका थिए । प्रहरीले राहुललाई पक्राउ गरे पनि कृष्णबहादुर महरालाई भने पक्राउ गर्न सकेको छैन ।

जिल्ला अदालत काठमाडौंले भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पक्राउ परेका राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि सीआईबीले शुरूमा पाँच दिनको म्याद पाएको हो ।

वि.सं. २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सीआईबीले महरा र उहाँका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, पछि दबाबका कारण उहाँहरूविरुद्ध मुद्दा दायर हुन सकेको थिएन् ।

अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयानसमेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महराका बाबुछोरालाई पक्राउ गरी अनुसन्धान गर्न नसक्दा प्रहरीको आलोचना हँुदै आएको थियो ।

चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको बताएका महरा परिवारले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्