सद्भाव कायम अहिलेको आवश्यकता



विगत केही दिनअगाडि धरान उपमहानगरमा केही मानिसले गोरु वध गरेर त्यसको मासु खाएको कुरा भाइरल हुन पुग्यो । यस काण्डमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको कुरा सञ्चारमाध्यममा आएको छ । ती दुवै निःसर्त रिहाइ नगरे चरणबद्ध आन्दोलनमा जाने भन्ने केही व्यक्तिको भनाइ पनि आएको थियो । साथै नेपाल धर्म निरपेक्ष राज्य भएकोले आफूहरुको संस्कार अनुसार गौमांस उपयोग अनिवार्य भएकोले गौवध गर्न पाउनुपर्ने माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमक्ष ज्ञापनपत्र बुझाएको पनि सञ्चारमाध्यमबाट देख्न र सुन्न पाइयो । उक्त विषयको प्रस्तुतिपछि मेयर साम्पाङले आफूले सक्दो सहयोग गर्ने भए तापनि आफू नेपाल सरकारको केवल एउटा अङ्गको प्रमुख भएका नाताले आफूले पनि नेपालकै कानुनलाई पालना गरेर चल्नुपर्ने र नेपाल सरकारको मातहतमा रहेको नेपाल प्रहरीलाई आफूले आदेश गर्ने अधिकार नभएको सन्दर्भ निकालेर अब आन्दोलन गर्नुको साटो दुवै पक्षबाट एउटा सम्झौता गरेर अगाडि बढ्दा उपयुक्त हुने कुरा बताएर ज्ञापनपत्र बुझाउन आएको टोलीलाई बिदा गरे । उक्त ज्ञापनपत्रमा हिन्दू अतिवादीहरुले सल्लाह गरेर हामीलाई धरानबाट लखेट्ने तयारीका साथ आएका थिए तर प्रहरीले रोकेर आउन नदिएको भन्ने कुरा पनि मेयरसमक्ष प्रस्तुत गर्न भ्याएको देखियो । यता आम नेपालीको मनमा अबका दिनमा हामीबीच रहेको एकता र सद्भाव खलबलिने हो कि भन्ने त्रास बढेर गएको पाइयो ।

हामी नेपालीहरु सदियौँअघिदेखि मङ्गोल र आर्यन, मधेसी र पहाडी, दलित र गैरदलित जोसुकैसँग पनि एउटा सद्भाव र मित्रभाव कायम गर्दै आएका छौँ भन्ने कुरा हामी सबै नेपालीलाई विदित नै भएको विषय हो । कहिलेकाहीँ आक्कलझुक्कल झगडा परे पनि नमिलेर सुखै छैन भन्ने मूल मन्त्र जप्न र तदनुसारका व्यवहार गर्न हामी चुकेका थिएनौँ भन्ने कुरा कसैले बिर्सनुहुँदैन । गौमांस बेचेर आर्थिक समृद्धि गर्ने भन्ने अभिव्यक्ति पनि सुनिन आएको सन्दर्भमा भन्ने हो भने अथवा मदिरा बेचेर समृद्ध बन्ने सोच भनेको हावा सोचाइ हो । अरु कुनै पनि बचाइको विकल्प नभेटेर मान्छेले आत्महत्याको बाटो रोज्न पुग्छ । तर अहिलेको धरानको परिप्रेक्ष्यमा भन्ने हो भने, गौमांस बिक्री र सेवनभन्दा कमाइका अरु सयौँ विकल्प हुन सक्छन । कानुनले निषेध गरेका काम गरेर कमाएको सम्पत्ति अवैध सम्पत्ति मानिन्छ । गौमांसको साटो खसी, कुखुरा, बङ्गुर आदिको मांस वैधरुपमा बेचे पनि पैसा कमाउने वा आय आर्जनको बाटो बनिजान्छ नि ! फेरि मांस बेचेर मात्रै पैसा कमाइ हुने हो र ? फलफूल बेच्नुस्, तरकारी बेच्नुस् वा अन्य आवश्यकीय सामग्री बेचे पनि पैसा कमिइजान्छ ।

कुरो रह्यो, हाम्रा पितापुर्खाका पालादेखि गौमांसको उपयोग गर्दै आएका अमुक जातिका अमुक धर्मका हामीलाई गौमांस र मदिरा नभई हुँदैन, त्यसैले हामी आन्दोलन गरेर वा रक्तपात मच्चाएरै भए पनि गौवध कर्मको अधिकार बहाली गरेरै छोड्छौँ भन्ने कसैले सोचेका भए त्यो सोचाइ अति नै साँघुरो सोचाइ हो । हाम्रा पुर्खाहरु अपठित थिए होलान्, अशिक्षित थिए होलान्, बाटोघाटोमा लाजै नमानी दिसापिसाब गर्दै हिँड्ने असभ्य थिए होलान् । त्यसैले आफ्नै हठ वा आग्रह अनुसार उनीहरुले गौबध र गौमांस भक्षणको कर्म गर्दै आए होलान् त ? अहिलेका पुस्ताले सही तर्क गर्न नसकेर मुढे बलका भरमा जित्न खोज्ने हो भने धन खर्च गरेर उच्च शिक्षा हासिल गरेको, आफूले आफैँलाई सभ्य ठहराएको कुरा कसरी सुहाउला त ? वर्तमान पुस्ताका युवाको सोच त्यति साँघुरो भएर कसरी अगाडि बढ्न सकिएला त ? अझै भन्ने हो आर्यनहरुले आफ्नो उन्नति हुन नदिएको भन्ने खालका दोष पनि आर्यनहरुमाथि खन्याउने गरिएको छ । बिचरा, आफैँ त्यति साँघुरो सोच बोकेर हिँड्ने अनि हामी मङ्गोलहरुको उन्नति हुन बाहुनले वा क्षत्रीले रोके भनेर भन्दा सुहाउला त ? अवश्य सुहाउँदैन । अहिले हजारौँ मंगोल जातिका मानिसले आफ्नो तरिकाले पितृ वा देवकार्य गर्दा अधिक पैसा अनाहकमा खर्च हुने ठानी आर्यन बाहुनलाई गर्न लगाएर थोरै खर्चमा ती कार्यहरु सम्पन्न गर्न थालेका छन् । यसो गर्दा म आर्यन अथवा म मङ्गोल भन्ने साँघुरो भावना हटेर हामी नेपाली भन्ने विशाल भावनाको विकास हुँदो छ । होला कति ठाउँमा आर्यन जातिका मान्छेले मङ्गोल मान्छेलाई त कति ठाउँमा मंगोलले आर्यनलाई तह लगाउन र सताउने गरेका हुन सक्छन् । तर कुरा के भने, मंगोललाई दबाउन खोज्ने आर्यनले अर्को आर्यनलाई नै पनि थिचोमिचो गरेकै हुन्छ भने आर्यनलाई दबाउन खोज्ने मंगोलले अर्को मंगोललाई पनि दबाउन वा सताउन बाँकी राखेको हुँदैन । कम्तीमा उमेरमा अलि पाका भइसकेका वा ६० कटेका मान्छेले यस्तो अनौठो कुरो गर्दा स्वाभाविकरुपमै लिन सकिएला तर त्योभन्दा कम उमेरका र आधुनिक शिक्षासमेत हासिल गरेका व्यक्तिले यस्तो कुरो गर्न सुहाउने विषय होइन भनेर जान्नुपर्छ ।

अहिलेका हाम्रा युवाले चिन्तन गर्नुपर्ने विषय गौवध र गौमांसको उपयोग होइन । चिन्तनको विषय भनेको भर्खरै हाम्रो छिमेकी देश भारतले करोडौं रुपियाँ खर्च गरेर अन्तरिक्ष यान बनाएर चन्द्रधरातलमा ओराल्न सफल भयो । अब उक्त यानले चन्द्रधरातलको माटो, जलवायु, खनिज पदार्थजस्ता विविध विषयको अध्ययन गरेर पठाउने अपेक्षा गरिएको छ । पठाउँछ वा पठाउँदैन भन्ने कुरा जान्न केही समय कुर्नुपर्ने हुन सक्छ । हामी सधैँ स्वतन्त्र भएर रहेका नेपाली र अङ्ग्रेजले कति वर्ष उपनिवेश बनाएको भारत, भारतले त्यत्रो उन्नति गरेर चन्द्रधरातलको अध्ययनमा निस्कने भइसक्यो भने हाम्रा लागि ती दिन कहिले सम्भव होलान् ? आजका युवाको चिन्तन भनेको यस्तै वैज्ञानिक सोचको हुनुपर्छ । अहिले धरानको गौवधको काण्डमा जो–जो फस्नुभएको छ र जस–जसले गौवध र गौमांस उपयोगलाई वैधानिकताको माग गर्दै हुनुहुन्छ, यो विषय सानो भए पनि साम्य गर्न र सद्भाव कायम गर्न सकिएन भने अन्त्यमा ५६ करोड यदुवंशीहरु एकै चिहान भएजस्तै न त मङ्गोल, न त आर्यन नै कोही पनि रहने छैनन् । कसैको भलाइ हुनेछैन । यदि यस काण्डमा दोषी ठहरिएकालाई हामी आफैँ कार्यवाही गर्छौं भनेर कोही गौसंरक्षकले सोचेका र त्यस्तै हर्कत गरेका भए उनको त्यो नकामको सबैले भत्र्सना गर्नुपर्ने हुन्छ ।

वर्तमान समय भनेको एक्काइसौँ शताब्दीको समय हो । यो समय विज्ञान र प्रविधिको समय हो । हाम्रा पितापुर्खाले हातमा ठेला उठाएर, घण्टौँ समय लगाएर खनेका खेतबारी अहिले ट्रयाक्टरले केही बेरमै जोतेर डल्लासमेत फुटाइदिन्छ । यदि जसरी भए पनि पितापुर्खाकै बिँडो थाम्ने मनसाय र कर्म हो भने आधुनिक युगको वरदान मानिने ट्रयाक्टर हटाएर पुनः कोदालो, कुटो आदि औजार नै घण्टौँ वा अझै धेरै समय लगाएर उपयोग गर्दा भइजान्छ नि ! गौमांसको ठाउँमा सकिन्छ भने नरिवल, नसके स्कुस, घिरौला, काँक्रो, बिमिरो आदिजस्ता फलफूल उपयोग गरेर पनि कार्यक्रम सम्पन्न गर्न सकिन्छ । हामी सबै (आर्यन र मङ्गोलियन)का पुर्खाले पनि गौवध र गौमांस सेवन गर्थे भनेर कोही–कोही वरिष्ठ विद्वान्हरुले बोलेको सुनियो । जङ्गली अवस्थामा हुँदा शायद सबैका पुर्खाले गौ वा अरु जुन जीव भेटिन्छ त्यसैको मांस नखाएर के खानु त ? तर पछि आएर पनि आर्यनहरुले आफ्ना पुर्खालाई सम्झने क्रममा वा श्राद्ध कर्म गर्दा मृगको मासुको पिण्ड दिइन्थ्यो भन्ने कुरा यथार्थ नै हो भन्न सकिन्छ ।

वास्तवमा भन्ने हो भने हामी जति धेरै शिक्षित, सभ्य, सुसंस्कृत भयौँ र अझै हुँदै छौँ भन्ने सोचाइका साथ अगाडि बढिरहेका बेलामा र कृषिउपजमा नै हाम्रो जीवन पूर्णतः निर्भर भएको समयमा मात्र नभई, वैज्ञानिक परीक्षण, हाम्रा धर्मग्रन्थ आदिलाई साक्ष्यका रुपमा राखेर विश्लेषण गर्दा मांसाहारी मान्छेभन्दा शाकाहारी मान्छे बढी निरोगी हुने भन्ने वैज्ञानिक तथ्य अगाडि आइरहँदा पनि हामीमा मांस भोजनको क्रेज घटेको छैन । बरु घट्नुको साटो बढेर गएको पाइन्छ । अन्न खान नपाए भोकले मरिएला तर अन्न खान पाएपछि मासु भक्षण नगरे पनि केही फरक पर्ने अवश्य होइन । अझ त्यसमा कानुनले निषेध गरेको विषयलाई बलमिच्याइँ गरेर गर्नु र गराउनु अनि सबैलाई चुनौती दिने तरिकाले सञ्जालमा फैलाउने काम गर्नु कति उचित वा अनुचित होला भनेर स्वयं कारणीले पनि सोच्नुपर्ने होइन र ?

अहिलेको धरानको यो काण्डलाई पनि आपसी सद्भाव नखलबलिने गरी साम्य गराउन नेपाल सरकारले तदारुकता देखाउनुपर्ने हुन्छ । नेपाल सरकारपछिको दोस्रो भूमिका खेलाइको काम धरान उपमहानगरका प्रमुखको हुन जान्छ । यदि धरान उपमहानगरका मेयरले सबैलाई अपिल गरेर सुव्यवस्था कायम गराउन आह्वान गरेका खण्डमा कुनै पनि घटना नभई समस्या समाधान गर्न सकिन्छ । यदि धरानका मेयरले यो भूमिकामा पाठ खेल्न सकेनन् भने जति र जे क्षति हुनेवाला छ त्यसको दोष धरानका नगरप्रमुखकै टाउकोमाथि थुपारिनेवाला छ । त्यसपछिका दिनमा उनको यति धेरै चुलिएको प्रशंसा र समर्थनमा बिस्तारै तुषारापात हुँदै जाने कुरामा कुनै शङ्का मान्नुपर्दैन । अझ कतिले बुझेर बोले वा नबुझेरै बोले, धरान उपमहानगरका नगरप्रमुख स्वयंले नै सुनियोजितरुपमा यो कार्य गर्न लगाएका हुन् र अहिले आएर बुझ पचाएको जस्तो नाटक गरिरहेका छन् भन्ने जमातको पनि कमी छैन । अझ कतिले वर्तमान प्रधानमन्त्रीले सुनियोजितरुपमा धरानको घटना घटाउन लगाएका र अब आम्नेसाम्ने बनाएर भिडाउँदै छन् भन्ने जमातको पनि ठूलै हल्ला सुन्न पाइन्छ । कतिको भनाइ छ, कमरेड प्रचण्ड (वर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल)को नेतृत्वमा भएको दशबर्से युद्धका क्रममा नेताहरुले नै गौवध र गौमांस भोजन गर्न सिकाएपछि अहिले आएर सिकेर जानेको अभिनय गरेर देखाउँदै छन् भन्ने बाक्लै आवाज पनि नसुनिएका होइनन् । हरेक मानिसको आ–आफ्नो सोच हुनु स्वाभाविकै हो । तथापि वर्तमानको धरान उपमहानगरको गौवधको विषयले उग्र रुपधारण नगरोस् । यतिखेर हामी सबैको चाहना नै यही हो । यसअघिका दिनमा हामी सबैका बीचमा जस्तो सद्भाव र भाइचाराको सम्बन्ध थियो त्यो पनि यथावत् कायम रहोस् भन्ने समेत करोड नेपालीको चाहना छ । यस विषयमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारसम्म संयम भएर आफ्नो भूमिका निर्वाह गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्