शरणार्थी प्रकरणमा छुटेका तुलाधर बालुवाटार जग्गा प्रकरणमा पुन: पक्राउ



काठमाडौँ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि धरौटीमा छुटेका केशव तुलाधरलाई तत्कालै प्रहरीले पक्राउ गरेको छ।नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार हिरासतमा लिएको हो।

नक्कली शरणार्थी प्रकरणका ३० जना अभियुक्तमध्ये उनी पनि एक थिए। उनलाई पक्राउ गरिएपछि जिल्ला अदलत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले १५ लाख धरौटी मागेको थियो। उक्त धरौटी रकम बुझाएर छुटेका तुलाधर बालुवाटारको ललिता निवास प्रकरणमा फेरि हिरासत पुगेका हुन्। उनीमाथि सीआईबीले ललिता निवासको २ रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लगाएको छ।

यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या पनि १९ पुगेको छ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई आइतबार नै थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ।

प्रतिक्रिया दिनुहोस्