मधेसमा अझै तंग्रिन सकेन फिल्म



कृष्णउदास खनाल, वीरगञ्ज । कोरोना कालमा अर्थतन्त्र नराम्रोसँग थला परेपछि त्यसको असर नेपाली सिने क्षेत्रमा पनि परेको छ।

नेपाली सिनेमाको एक अंगको रुपमा रहेको भोजपुरी चलचित्रमा समेत यसले गम्भीर असर पारेको छ। अहिले भोजपुरी फिल्मका निर्माता, निर्देशक तथा कलाकारहरु फुर्सदिला देखिएका छन्। वीरगञ्ज क्षेत्रमा केही फिल्मको छायांकन हुँदै आए पनि कोरोनापछि भने यसले उल्लेखनीय रुपमा निरन्तरता पाउन सकेको छैन। फिल्म निर्माण गर्ने सोच भए पनि बजारमा अर्थ अभाव भएकाले राम्रो चल्नेमा आशंका भएकाले फेरि लगानी गरेर फिल्म बनाउनका लागि सोच्नु पर्ने अवस्था आएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्षसमेत रहेका र मेला फिल्मका निर्माता हरि पन्तले बताए। अर्थतन्त्र सही बाटोमा नआउँदासम्म जिल्लामा बसेर फिल्म निर्माण गरिहाल्न आँट नआएको निर्माता पन्तको भनाइ छ।

कुनै बेला निकै व्यस्त रहेका भोजपुरी फिल्मका नायक परदेशी साह अहिले फुर्सदमै भेटिन्छन्। फिल्म निर्माणमा कमी आएकाले आफ्नो दैनिकी फेरिएको साहले बताए। वीरगञ्जमा रहेका सिनेमा घरमा दर्शकको उपस्थिति न्यून देखिएको छ। कोरोनापछि सिनेमा घरमा दर्शक आउने क्रम घटेको र बिस्तारै बढ्ने अपेक्षा गरिएको वीरगञ्जका सिनेमा घर सञ्चालक तथा व्यवसायीहरु बताउँछन्। यद्यपि, वीरगञ्ज नेपाली फिल्म क्षेत्रका लागि उर्वर भूमिको रुपमा पनि लिइन्छ। पञ्चायतकालदेखि नै यहाँ नेपाली फिल्म प्रदर्शन हुँदै आएका छन् भने यहाँका केही व्यक्तिले सिने क्षेत्रमा राम्रो लगानी गरेका छन्। भारतीय फिल्मको प्रभाव रहेको वीरगञ्जमा अहिले भने भारतीयसँगै नेपाली फिल्मको प्रभाव घटेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्