साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग पराजित



काठमाडौं।

साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भएको छ ।

भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे । नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए ।

खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको कुवेतका लागि कप्तान खलिद हाजियाले गोल गर्दै अग्रता दिलाएका थिए । २३औं मिनेटमा फवाज अलोटाइबीले प्रहार गरेको कर्नरबाट आएको बलमा कप्तान हाजियाले हेडमार्फत गोल गरेका थिए ।

४१औं मिनेटमा कुवेतका सबाइब अलखाल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारेका थिए । अलखाल्दीले बायाँतर्फबाट आएको लोअर क्रसलाई नियन्त्रणमा लिँदै नेपाली टिमबाट रक्षापंक्तिमा रहेका विमल पाण्डेको चुनौतीलाई सहजै बिट गर्दै कुवेतका लागि दोस्रो गोल गरेका हुन् ।

६५औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० सहज स्थितिमा पुर्‍याएका थिए ।  ६८औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालका लागि एक गोल जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्