मोबाइलको नाउँमा ११ लाखभन्दा बढी रकमको दुरुपयोग

मोबाइल कसले चलायो ?



वीरगञ्ज । वीरगञ्जको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिले मोबाइल खरिदको नाउँमा लाखौं रुपियाँको दुरुपयोग गरिएको पाइएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा जनप्रतिनिधिका लागि रेडमी, वन प्लसलगायत विभिन्न कम्पनीका ५८ वटा मोबाइल फोन खरिद गरेको थियो ।

तर, विभिन्न सातवटा पसलबाट खरिद गरिएको ११ लाख १५ हजार ९ सय ९४ रुपियाँ बराबरको उक्त मोबाइल फोन अहिले कहाँ र कुन अवस्थामा छ भन्नेबारे कसैलाई जानकारी छैन। नगरपालिकाका तत्कालीन मेयर नितेन्द्र साहको पालामा नगरपालिकाका बोर्ड सदस्यका लागि भनेर उक्त मोबाइल फोन खरिद गरिएको थियो।

मधेस प्रदेश सरकारबाट जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७७ मा पालिका पदाधिकारी तथा कर्मचारीलाई मोबाइल फोन सुविधा दिने व्यवस्था छैन। तैपनि, नगरपालिकाले आफ्ना बोर्ड सदस्यहरूका लागि लाखौँका मोबाइल फोन खरिद गरी वितरण गरेको थियो ।

उक्त मोबाइल फोनमध्ये रेडमी कम्पनीको एउटा मोबाइल वडा नं.–९ का वडा अध्यक्ष रवि गुप्ताले पनि पाउनुभएको थियो । आफूले पनि मोबाइल पाएको स्वीकार गर्दै उहाँले भन्नुभयो– ‘त्यतिखेर मैले पनि एउटा मोबाइल पाएको थिएँ तर पछि नगरपालिकालाई नै फिर्ता दिएँ ।’ उहाँले वडा कार्यालयका कर्मचारीले पनि नगरपालिकाको मोबाइल प्रयोग नगरेको बताउनुभयो । वडा नम्बर–४ का अध्यक्ष सुरेन्द्र यादवले पनि आफूसहित वडाका कर्मचारीले व्यक्तिगत मोबाइल चलाइरहेको जानकारी दिनुभयो ।

यद्यपि, नगरपालिकाका हालका मेयर सिँगासन साह तेलीले पनि आफ्नै मोबाइल चलाइरहेको बताउनुभयो । उहाँले नगरपालिकाबाट मोबाइल फोन सुविधा नलिएको जानकारी दिनुभयो । यस सम्बन्धमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफासँग जानकारी माग्दा उहाँलाई पनि ११ लाख रुपियाँभन्दा बढीको ५८ वटा मोबाइल कसले चलाइरहेको छ भन्नेबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्