राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

‘छेन्दु–पोखरा उडानका लागि चीन तयारी अवस्थामा’



काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबीच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरूपमा जोडेको नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एवं ंअति घनिष्ठसम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षहरूमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एवं विकासको साझेदार र असल छिमेकीको रूपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व र प्राथमिकता दिँदै आएको बताउँदै नेपाल सधैँ एक चीन नीतिको पक्षमा छ भने । पछिल्ला दिनमा नेपाल र चीनको विधायिकीसम्बन्ध बिस्तार हुँदै गएको चर्र्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–चीनबीचको द्विपक्षीयसम्बन्ध लगायत हाम्रा दुई विधायिकाबीचको सम्बन्धलाईसमेत थप मजबूत बनाउनेछ बिश्वास पनि व्यक्त गरे ।

चीन नेपालका पर्यटक स्रोत मुलुकहरुमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्याण्ड टुरिष्ट ग्रुपमा राखेकोमा खुसी व्यक्त गरे । चीनिया ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका बिभिन्न सहरबाट सोझो उडान हुने विश्वास व्यक्त गरेका थिए ।

नेपाल चीनबीच केरुङ÷रसुवागढी, हिल्सा÷पुराङ र तातोपानी÷झाङमु नाकाहरु मार्फत दुईतर्फी व्यापार सुचारू भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरू सञ्चालन हुने बिश्वास पनि व्यक्त गरे । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि अनुरोध पनि गरे ।

भेटमा चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका विषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिएका थिए । उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अबस्थामा रहेको जानकारी दिएका थिए । पोखरा बिमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु पोखरा सिधा उडान गर्न चीन तयारी अवस्थामा छ, उनले भने ।

अध्यक्ष तिमिल्सिना ९ सदस्यी नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन् । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । चीनको औपचारिक भ्रमणमा रहेको नेपाली सासदहरुको प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा पनि चीन भ्रमणमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्