सरकारले आधारभूत स्वस्थ्य सेवा जनतामा पुर्याउँछ : स्वास्थ्यमन्त्री बस्नेत



सिन्धुपाल्चोक।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वस्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने बताएका छन् । सिन्धुपाल्चोकको चौतारामा सोमबार आयोजित कार्यक्रममा उनले सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको पहुँचमा पुर्याउने बताए ।

मन्त्री बस्नेतले संविधानमा रहेको स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा सबै नागरिकको सहज पहुँच पुग्नुपर्ने बताउँदै सरकार यस्ता क्षेत्रको सुधारमा संवेदनशील भएर लागेको बताए । “विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई अस्पतालले दिनुपर्ने सेवाका बारेमा सरकारले गरेको व्यवस्था कार्यान्वयन कडाइका साथ लागू गर्ने र स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्छ”, उनले भने ।

जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर लाग्नुपर्ने बताउँदै उनले स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालय साधन स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित जनशक्तिको व्यवस्थापन र परिचालनमा प्राथमिकताका साथ लागिपरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्