‘मौज्दात नभएको चेक, पशुपतिनाथको प्रसाद जसरी बाँड्नु गैरकानुनी’: प्रहरी प्रमुख कार्की



काठमाडौँ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री समेत भइसकेका बालकृष्ण खाँणलाई पक्रेर चर्चित बनेका काठमाडौँ जिल्ला प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बैङ्कमा मौज्दात नभएको चेक काटेर दिनु गैरकानुनी भएको बताउनुभएको छ ।

राजधानीको तीनकुनेमा शनिबार बिहान आयोजित कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक कार्कीले पछिल्लो समयमा बैङ्कमा मौज्दात नभएको चेकबारे प्रहरीमा धेरै उजुरी पर्न थालेको बताउँदै बैङ्कमा मौज्दात नभएको चेक पशुपतिनाथको प्रसाद जसरी बाँडेमा बैंकिङ्ग कसुर अनुसार कारबाही हुने बताउनुभयो । बैंकिङ्ग कसुर अनुसार अहिले धेरैजना कारवाहीमा परेको पनि उहाँले उल्लेख गर्नुभयो ।

चेक भनेको नगदको अर्को माध्यम भएकोले चेकको कारोबार गर्दा ध्यान पुर्‍याएर लेनदेन गर्न आग्रह गर्दै उहाँले अहिले शैक्षिक परामर्श केन्द्रसँग सम्बन्धित र वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक अपराधका घटनाहरु, अभद्र व्यवहार, चोरी, पाकेटमारी र सामाजिक सञ्जालले उब्जाएका अपराधका घटना बढिरहेको बताउनुभयो ।
रोजगारी या अन्य कुनै पेसा व्यवसाय नभएका फुर्सदिला मानिसहरुकै कारण अहिले समाजिक सञ्जालमा नचाहिने क्रियाकलापरु बढेको उल्लेख गर्दै उहाँले यसबारे समयमै सचेत रहन सबैसँग आग्रह पनि गर्नुभयो ।

कोठा भाडामा माग्न आउने भन्दै घरघरमा चोरी गर्ने गिरोह सक्रिय रहेकोले राजधानीका घरधनीलाई सचेत रहन उहाँले सचेत गराउनुभयो ।
प्रहरी वृत्त कोटेश्वरको आयोजना तथा सामुदायिक सेवा समिति, सामुदायिक प्रहरी र काठमाडौँ महानगरको १०, ३१ र ३२ वडाको सहयोगमा आयोजित नागरिक सुनुवाइ कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक कार्कीले सर्वसाधारणको चालचलन २०८० सालको र व्यवहार सोचाई भने २०४० सालको भएको कारण समाज बौद्धिक बन्न नसकेको प्रष्ट पार्नुभयो ।

उहाँले नागरिकको जनधनको सुरक्षाको लागि टोलटोलमा जडान गरिएका सिसिटिभीको तार महानगरपालिकाले अन्धाधुन्ध रुपमा काट्दा अपराधका घटना बढेको र अपराधीहरु पत्ता लगाउन गाह्रो हुँदै गएकोले जथाभावी सिसिटिभीको तार नकाट्न महानगरपालिकालाई चेतावनी दिनुभयो ।

प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरीक्षक निशान्त श्री वास्तव, महानगरको वडा नं १० का अध्यक्ष रामकुमार केसी, ३१ का अध्यक्ष सरोज ढकाल तथा ३२ का अध्यक्ष नवराज पराजुली लगायतले बोल्नुभएको थियो ।
सामुदायिक विकास तथा सेवा समिति वडा नं ३१ का अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्