स्थानीय तहसँग बेरुजुको कारणसहित प्रतिवेदन पेस गर्न निर्देशन



काठमाडौं । स्थानीय तहमा देखिएको बेरुजु र भए गरेका वित्तीय अनुशासनको उलङ्घनको विषयमा संघीय सरकारको ध्यान आकृष्ट भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखाको ६०औं प्रतिवेदनले औंल्याएअनुसार स्थानीय तहमा भएको बेथितिबारे कारणसहित प्रतिवेदन मन्त्रालयमा पठाउन देशभरका स्थानीय तहलाई निर्देशन गरेको छ । मन्त्रालयले बेरुजुको कारणसहित प्रतिवेदन पठाउन पत्राचार गरेको जानकारी दिँदै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पत्राचारको क्रममा असुलउपर गर्नुपर्ने बेरुजु असुल गर्न पनि कडाइका साथ भनेका छौं ।’

मन्त्रालयले आगामी जेठ १५ गतेभित्र बेरुजुको कारणसहित स्थानीय तहको बेरुजु टिप्पणी फाइल मन्त्रालयमा पठाउन आवश्यक सहजीकरण र समन्वयको जिम्मेवारी जिल्ला समन्वय अधिकारी र जिल्ला समन्वय अधिकारीलाई दिएको छ ।

महालेखा परीक्षकको कार्यालयबाट असुल उपर गर्नुपर्ने भनी औंल्याइएको बेरुजका सम्बन्धमा तत्काल असुल उपर गर्न सम्बन्धित कर्मचारी, व्यक्ति, फर्म, संस्था, समूह, समिति वा अन्य निकायमा पत्राचार गरी सूचना पठाउन र असुरउपर गरी लेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ । त्यसै गरी महालेखाले नियमित हुनुपर्ने भनी औंल्याइएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण तथा कागजात जुटाई तथ्यपरक प्रतिक्रिया तयार गरी पुष्ट्याईंसहित सक्कल टिप्पणी फाइल नियमित गर्न जेठ १५ गतेभित्र मन्त्रालयमा उपलब्ध गराउन पनि पत्रमा भनिएको छ ।

सरकारी कार्यालयको बेरुजु फस्र्यौंटको प्रतिशतलाई सम्बन्धित लेखा उत्तरदायी अधिकारी र सो कार्यालयमा काम गर्ने कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनका आधारका रूपमा लिइने कानुनी व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले बेरुजु फस्र्यौंटका आधारमा कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन हुने उल्लेख गरेको छ । मन्त्रालयले परिपत्रमार्फत सम्बन्धित लेखा उत्तरदायी अधिकारी र कर्मचारीलाई यो कानुनी व्यवस्थाबारे पनि स्मरण गराएको छ ।

बेरुजु फस्र्यौंट गर्ने÷गराउने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको थियो । सरकारी कार्यालयमा रहेको बेरुजु असुल उपर गरी लेखापरीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन पनि परिपत्रमार्फत निर्देशन दिइएको छ । परिपत्रमा भनिएको छ– ‘पेस्की बेरुजुका रूपमा कायम भएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण, कागजात बिल भरपाई आदि सङ्कलन गरी यथाशीघ्र पेस्की फछ्र्यौट गर्ने र महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउनुहोला ।’ २० वर्ष अघिको बेरुजु फस्र्यौट व्यवस्थापनका लागि त्यसको विवरण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय पठाउन पनि भनिएको छ ।

आर्थिक वर्ष २०५९÷०६० सम्मको पुरानो बेरुजुको हकमा असुल उपर गर्नुपर्ने, सरकारी हानि–नोक्सानी र फस्र्यौट भएको बाहेकको बेरुजु लगत कट्टाका लागि आवश्यक प्रक्रिया पूरा गरी लगत कट्टा गर्ने वा लगत कस्ने प्रयोजनका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउन मन्त्रालयको परिपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्