सरकारले गरेको बढुवाप्रति प्रहरी वरिष्ठ उपरीक्षक सिंहद्वारा असन्तुष्टि व्यक्त



काठमाडौँ ।

सरकारले हालै नेपाल प्रहरीमा गरेको बढुवामा असन्तुष्ट जनाउँदै आएका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले सामाजिक सञ्जाल मार्फत सरकार विरुद्ध आफ्नो असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

आफुसंगैका साथीहरुको बढुवा भएको र आफ्नो बढुवा नभएपछि लोकसेवा आयोगमा समेत उजुरी गर्नु भएका सिंहले कहीँ कतै सुनुवाइ नभएपछि सामाजिक सञ्जाल फेसबुकमा तनहुँ एक बाट उपचुनावमा निर्वाचित डा. स्वर्णिम वाग्लेलाई बधाई दिदैं देश लुटेराहरूलाई ठुलो धक्का बधाई छ डाक्टर साप भनेर पोस्ट गर्नु भएको थियो ।

सिंह भन्दा बरीयतामा पछाडि रहेकाहरु समेत प्रहरी नायव महानिरीक्षक  बढुवा भएकोमा निराश देखिनु भएका सिंहले डिआइजी बढुवाको आधार विभिन्न निकायमा खोजेको भएपनि कुनै पनि निकायले आफूलाई आधार सहितको जानकारी नदिएको भन्दै निराश बन्नु भएका एसएसपी सिंहले आफ्ना मनका कुरा सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नु भएको थियो ।

नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षकको उमेर हद ५५ वर्ष रहेकाले भोलिबाट उहाँले प्रहरी सेवाबाट अवकाश पाउँदै हुनुहुन्छ । २८ वर्ष प्रहरी सेवामा काम गर्नु भएका सिंहले सुरक्षा निकायको चेनअफ कमान्डमा नै असर गर्ने गरी व्यक्त गरेको अभिव्यक्तिले प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एसएसपी सिंहले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिको बारेमा प्रधान कार्यालयको ध्यानाकर्षण भएको बताउनु भएको छ ।

उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै उहांको जागिर अवधि पनि सकिएकाले थप कारबाही अगाडि बढ्न नसकेको जानकारी दिनुभयो ।
नेपाल प्रहरीमा हुने सरुवा बढुवामा राजनीतिक हस्तक्षेप देखिने गरी हुने गरेको कारण राम्रा काम गर्ने प्रहरी कर्मचारी सरुवा बढुवामा छुट्दै आएका छन् । अहिले नेपाल प्रहरीका अधिकांश अधिकृतहरु सरुवा बढुवाकालागि नेताका घर घर धाउने क्रम तीव्र हुँदै गएको छ ।

जसका कारण नेपाल प्रहरीको काम कारवाहीमा समेत क्रमशः ह्रास आउँदै गएको छ । प्रहरीको काम प्रति जनताले पटक पटक प्रश्न उठाउँदै आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्