अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ



काठमाडौँ।

नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने १ जनालाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ घर भएका २८ वर्षीय राजेश शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरबाट धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुईपाङ्गे सवारी साधनको ट्रायल दिदै गरेको अवस्थामा शाहीलाई फेला पारेको थियो । नियन्त्रणमा आएका शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्