आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा साउद परराष्ट्रमन्त्री



????????? ???????????????? ?????? ?????? (????) ???? ?????? ????? ??????????????? ??????? ??????? ????? /????

काठमाडौं । सात दलीय सहयोगबाट प्रधानमन्त्री बनेर १० दलीय समर्थन जुटाउन सफल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेन । चार महिनाको अवधिमा आठपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएन ।

आइतबार परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता एनपी साउदलाई नियुक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भए पनि प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड गत पुष १० मा नेकपा (एमाले) सहितका सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । नेपाली कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले दुई महिनामै उक्त गठबन्धन भत्काउँदै पुनः कांग्रेससहित आठ दलको समर्थन जुटाउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस ११ मा मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो भने एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका मन्त्रीहरूलाई समेटेर दोस्रोपटक माघ ३ मा, माघ १४ मा तेस्रो पटक, माघ २३ मा चौथोपटक, फागुन १४ पाँचांैपटक, फागुन १६ मा छैटौंपटक र सातौंपटक चैत्र १७ मा विस्तार भएको प्रचण्ड सरकारको मन्त्रिपरिषद् आठौंपटक वैशाख ३ मा विस्तार भएको छ । एउटै सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिन आठौंपटक समेत प्रचन्ड असफल देखिनुभएको छ । एमाले नेता महेश बस्नेतले प्रचण्ड नेपाली राजनीतिका अस्थिर खेलाडी भएको टिप्पणी गर्दै आठौंंपटकमा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेर इतिहास रचेको भन्दै व्यंग्य गर्नुभयो ।

एमालेसँगको गठबन्धन तोडेर कांग्रेससहितका आठ दलको समर्थन पाएपछि १० दलले विश्वासको मत दिएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री दाहालको सरकारमा अझै पाँच मन्त्रालय मन्त्रीविहीन छन् । ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका प्रचण्डले आइतबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्री मात्रै नियुक्त गर्न सक्नुभयो । प्रचण्ड सरकारको चार महिनामा तीन दर्जन सांसदले मन्त्रीको नियुक्त पाए पनि उहाँको क्वाविनेटका १७ मन्त्रालयले मात्रै मन्त्री पाएका छन् ।

प्रधानमन्त्री दाहालले गठबन्धनको एउटा दल जसपाका अध्यक्ष उपेन्द्र यादवलाई चुनाव जिताएर मन्त्री बनाउनकै लागि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको सत्ता साझेदार दलका नेताहरूको दाबी छ । यद्यपि, माओवादी केन्द्रले भने नेपाली कांग्रेसले समयमा मन्त्रीको नाम दिन नसकेपछि मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको दाबी गरेको छ ।

तर, जसपाका अध्यक्ष यादवलाई उपनिर्वाचन जिताएर सरकारमा सहभागी गराउनकै लागि आठौंपटकमा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सत्ता गठबन्धनका एक नेताले नेपाल समाचारपत्रलाई बताए । ‘प्रधानमन्त्रीजीले आठौंपटक मन्त्रीमण्डल विस्तार गरिसक्नुभयो’, उनले भने– ‘तर उहाँलगायत सत्ता गठबनधनका शीर्ष नेताहरूलाई उपेन्द्र यादवलाई सरकारमा भित्र्याउन हतार छ । त्यसैले पनि यादवलाई सत्ता गठबन्धनका साझा उम्मेदवार बनाएर बारा २ को उपनिर्वाचनमा पठाइएको र उपनिर्वाचनपछि मात्रै बाँकी मन्त्रालयमा मन्त्रीहरू नियुक्त गर्ने प्रधानमनत्रीको योजना छ ।’

कांग्रेससहितको समर्थनमा गत १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका प्रचण्डलाई उपेन्द्र जिताएर मन्त्रीमण्डल विस्तार गर्न वैशाखको दोस्रो हप्ता पर्खनुपर्ने देखिएको छ । यद्यपि, उपेन्द्रको जित भने निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्