ढाकाकुमारविरुद्ध कारबाही, कंसाकारलाई सांसद बनाउने निर्णय



काठमाडौं । राष्ट्रि«य स्वतन्त्र पार्टीले २ करोड रुपियाँ लेनदेनको अडियो सार्वजनिक भएपछि सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गर्दै उहाँको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानविपरीत काम गरेको ठहर गर्दै श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले भन्नुभयो– ‘म डुबें भनेर अरूलाई पनि डुबाउँछु भन्नुभएको रहेछ । उहाँको भनाइ शंकास्पद देखियो । त्यसैले उहाँलाई कारबाही गर्ने निष्कर्षमा पार्टी पुगेको हो ।’

रास्वपाले बुझाएको समानुपातिक सूचीमा मेघ आलेको नाम सबैभन्दा माथि रहेको भए तापनि मकवानपुरकी विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । जनजाति समूहबाट सांसद भएका श्रेष्ठलाई कारबाही गरेपछि सो पार्टीको स्थापना कालदेखि नै केन्द्रीय सदस्य रहेका आले सांसद बन्ने पहिलो सूचीमा हुनुहुन्थ्यो ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति लामिछानेलाई इमेलमार्फत बुझाएको थियो । अनुशासन समितिको सोधपुछमा सांसद श्रेष्ठले कोर टिममा को को छन् भन्ने नखुलाएको तर पार्टी ठूलो कारबाही गरे सार्वजनिक रूपमै उक्त कोर टिमसहित पार्टीका गतिविधिका बारेमा बताउने प्रतिउत्तर दिनुभएको थियो ।

स्वास्थ्य मन्त्री बनेर मेडिकल व्यवसायी दुर्गा प्रसाइँको काम गरिदिने शर्तसहित २ करोड घुस काण्डमा आरोपित सांसद श्रेष्ठले शुरूमा आफ्नो अडियो नक्कली भएको दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्