बिस्केट जात्रामा ढुंगा हानाहान हुँदा २३ जना घाइते, १० पक्राउ



भक्तपुर। 

आठ दिन नौ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्का) जात्राका क्रममा पहिलो दिन मध्यराति भैरवनाथको रथ दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएका छन् ।भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिनुभयो । घाइते सबैको  उपचार गरी राति नै घर फर्काइएको र कसैको पनि अवस्था जटिल नरहेको बताउनुभयो ।

आज बिहान ४ बजेसम्म ढुङ्गा हानाहान  भएको स्थानीयको भनाई छ ।ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै पक्राउ गरेको छ । जात्रामा ढुंग हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै ढुङ्गा हान्दै गर्दा पक्राउ गरेको र सिसी क्यामरा तथा अरु माध्यमबाट थप ढुङ्गा हान्नेहरु पहिचान गरी पक्राउ गरिने प्रहरी उपरीक्षक प्रजित केसीले बताउनुभयो ।पक्राउ परेकालाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रहरीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी माधव प्रसाद शर्माले बिस्केट जात्रा स्थानीयवासीको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिएपछि प्रहरीले पक्राउ गरेको बताउनुभयो।

ढुङ्गा हान्ने क्रममा मानवीय क्षति नभएको जानकारी दिँदै प्रहरीले जात्रा अवधिभर शान्ति सुव्यवस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने बताएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का: जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो।
रथ तान्ने क्रममा सुरुमै माथिल्लो टोलकाले रथ लैजाने क्रममा रथलाई बुलुबुलु हिटी (सुकुलढोका), इनाचो हुँदै राति १:३० बजे दत्तात्रय नजिक रथलाई पुर्‍याएका थिए ।

रथलाई राति नै ग:हिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राख्नुपरेको थियो। आज बिहान स्थानीयवासीको सहायतामा रथ तानेर बिहान नौ बजे ग:हिटीमा राखिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

राति ढुङ्गा हानाहान भएपछि रथलाई ग:हिटी ल्याउन सकिएन, त्यसैले आज बिहान स्थानीयवासीलाई आग्रह गरिएको र उनीहरुले नै रथ तानेर ग:हिटी पुर्‍याएको प्रहरीले जनाएको छ ।बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहानसम्म दत्तात्रय नजिक थियो।

ढुङ्गा हानाहान हुँदा दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका इँटा र ढुंगाका टुक्रा छरिएका थिए ।पछि स्थानीयको सहयोगमा प्रहरीले इँटा र ढुंगाका टुक्रा पन्छाएको छ । जात्रा हेर्न जानेले ढुङ्गा हानेर जात्राको पहिचान मेटाउन खोज्नेलाई कारबाहीको माग गरेका छन् ।

जात्रा सुरु हुनु अघि शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली गरिएको थियो । हरेक वर्ष जसो जात्रा मनाउने क्रममा सम्भावित घटना तथा झडप तथा रथले किचेर वा लिङ्गोबाट झरेर वा लिंगोले किचेर घाइते हुने र कतिपय वर्षमा त जात्रालुको ज्यानै जाने समेत गरेको छ ।त्यसैले हरेक वर्ष कडा सुरक्षा घेराबीच जात्रा मनाउने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्