रास्वपा सांसद्वारा साढे २ करोडको बार्गेनिङ २४ घण्टे स्पष्टीकरण

रकम लेनदेनको सम्पादित संवाद



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ साढे २ करोड रुपियाँको बार्गेनिङ गरेकोे अडियो सार्वजनिक भएको छ । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछाने र मन्त्री छनौटको कोर टिमले भनेको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग मोलमोलाई गर्नुभएको ह्वाट्सएप संवाद बाहिरिएको हो ।

उक्त अडियो बाहिरिएपछि रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले पनि सुनेको बताउँदै सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी दिनुभयो । यसैबीच महामन्त्री ढकालले विज्ञप्ति जारी गर्दै श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र उक्त संवादबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिएको जानकारी दिनुभएको छ । साथै छानबिन पूरा नभएसम्म श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि काम कारबाही नगर्न नगराउन रास्वपाले निर्देशन पनि दिएको छ ।

सञ्चार माध्यमहरूले सार्वजनिक गरेको अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको सुनाउँदै श्रेष्ठले प्रसाईंसँग उक्त मोलमोलाई गर्नुभएको हो । ९ मिनेट लामो उक्त संवादमा श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपियाँ व्यवस्थापन गरिदिन आग्रह गर्दै तत्कालका लागि एक करोड रुपियाँ दिए सभापति लामिछानेले प्रसाईंलाई मन्त्री बनाउन तयार रहेको बताउनुभएको छ । संवादमा प्रसाईंले दुई करोड रुपियाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त अघि सार्नुभएको छ ।

रकम लेनदेनको सम्पादित संवाद

ढाका कुमार – स्वास्थ्य हामीले पाउने भयौं । पार्टीलाई अलिकति सहयोग गर भनेर । आन्तरिक त्यो कोर टिम छन् २÷३ जना साढे २ जति चाहियो भन्दै थिए मलाई हिजो ।

दुर्गा प्रसाईँ – अँ
ढाका कुमार – मेरो पक्का चै पक्का भयो । अब आज मैले फिक्स गर्नुछ क्या सर ।
दुर्गा प्रसाईँ – ए !
ढाका कुमार – अब त्यही भएर अलिकति म फेरी अर्थिकमा त्यस्तो साह्रौ ऊ छैन
दुर्गा प्रसाईँ – अँ
ढाका कुमार – अब मन्त्री पनि बन्नु पर्यो, अनि धोइपखाली गरी यो स्वस्थ्य क्षेत्र पूरा सुधार पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु ।
दुर्गा प्रसाइ – हजुर
ढाका कुमार – अब त्यसमा हजुरहरूको पनि सहयोग सपोर्ट चाहियो भन्ने कुरा पनि हो सर ।
दुर्गा प्रसाईं – अच्छा मैले त्यो कुरो बुझेँ । सल्लाह गरेर अघि बढौंला । अनि फेरि अँ.. तपाइलाई मैले एउटा कुरा भन्न खोजेको हामी त ह्वाटसएपमा छौं मतलव भएन । अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ?
ढाका कुमार श्रेष्ठ – स्वास्थ्य, शिक्षा मुकुलाई पनि थाहा छैन सर आन्तरिक कुरा । त्यो कोर टिममा हुनुहुन्न क्या । महामन्त्री चै महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरी २÷३ जना चै छुट्टै हुनुहुन्छ क्या पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टिमबाट मलाई पु¥याएको । अव आज मैले फिक्स गर्नु पर्छ पैसा । उधारो हुन्न भन्छन फेरि ।
दुर्गा प्रसाईं – क्यास अढाइ करोडको कुरा हो कि २ करोड ?
ढाका कुमार श्रेष्ठ – अँ २ साढे २ भनेका छन् । अहिले चै मैले एक दिएँ भने पनि उनिहरू मान्छन् होला । चेक दिए पनि मान्छन् क्या २÷३ दिन ।

प्रतिक्रिया दिनुहोस्