विद्युतीय सुरक्षा मापदण्डको पालनामा कडाई गर्दै विद्युत प्राधिकरण



काठमाडौं ।

विद्युतबाट हुने दुर्घटना न्यूनिकरणका लागि नेपाल विद्युत प्राधिकरणले सुरक्षा मापदण्डको पालनामा कडाई गर्ने भएको छ ।

विद्युतीय सुरक्षा दिवसको अवसरमा विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स एसोसियसन नेपाल (सीन) ले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले सुरक्षा मापदण्डको पालनालाई कडाईका साथ लागु गर्न सबै शाखा प्रमुखहरूलाई निर्देशन दिईसकेको जानकारी दिंदै भन्नुभयो – ‘कुनै ठाउँमा विद्युत दुर्घटना भयो र त्यसको छानवीन गर्दा हाम्रा कर्मचारीहरूको लापरवाही देखियो वा हाम्रा कर्मचारीले सुरक्षा मापदण्ड पालना नगरेको कारण दुर्घटनामा परेका रहेछन् भने हामी सम्बन्धित शाखा प्रमुखलाई पनि कार्वाही गर्नेछौं ।’

प्राधिकरणले विद्युतको पोलमा चढ्ने कर्मचारी तथा विद्युत मर्मतसम्भारमा अग्रपंतिमा खटिने कर्मचारीहरूका लागि हेलमेट, पोशाकलगायत ३ हजार थान सुरक्षा उपकरणहरूको प्रबन्ध गरिसकेको जिकिर गर्दै भन्नुभयो –‘हामीले प्राधिकरणका सबै शाखामा सुरक्षा उपकरणहरू पुर्‍याइसकेका छौं ।

यदि कुनै शाखामा अझै पनि अपुग भएमा तत्काल केन्द्रमा खबर गर्नुहोला । अब कसैले पनि प्राधिकरणको पोशाक, हेलमेट र सुरक्षा उपकरण प्रयोग गर्नमा लापरवाही गरेको पाइएमा हामी ती कर्मचारीलाई कारवाहीस्वरुप जरिवाना तिराउने छौं ।’

कार्यक्रममा उहाँले प्राधिकरणभित्र विद्युतीय सुरक्षालाई प्राथमिकता दिँदै संरचनामा धेरै सुधार गरिसकेको जानकारी दिनुभयो । उहाँले देशभरि नै नांगो तारलाई हटाएर प्लाष्टिक जडित इन्सुलेटेड तार राख्ने अभियान शुरु भैसकेको जानकारी पनि दिनुभयो ।

प्राधिकरणका सहायक प्रबन्धक ई. सागरमणी ज्ञावलीले विद्युत दुर्घटनालाई न्युनिकरण गर्न राष्ट्रिय इलेक्ट्रिक कोड निर्माण गर्नुपर्नेमा जोड दिनुभयो भने सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले राष्ट्रिय इलेक्ट्रिक कोड निर्माणमा प्राधिकरणलाई सीनले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीनका उपाध्यक्ष ई। तीर्थमान शाक्यले विद्युतको सवालमा गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिंदै विद्युतीय उपकरणका साथै वर्कम्यानसीपमा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।


अमेरिकामा मृत्युको ६ वटा प्रमुख कारणमध्ये विद्युतीय दुर्घटना पनि एक भएको जानकारी दिंदै प्राध्यापक जगन्नाथ श्रेष्ठले भन्नुभयो– ‘अमेरिकामा प्रत्येक वर्ष विद्युत दुर्घटनामा परेर ३० हजार हाराहारीमा घाइते हुने र तीमध्ये एक हजार जनाको मृत्य हुने गरेको तथ्यांकले देखाएको छ । त्यस्तै भारतको ठूलो अस्पतालहरूमा सन् २०१२ देखि २०१६ सम्म गरिएको एक अध्ययनअनुसार त्यो अवधिमा अस्पतालमा भर्ना हुन आएका विरामीमध्ये ८८ प्रतिशत विद्युत दुर्घटनाका शिकार थिए। त्यसैले विद्युत उपभोगमा सावधानी जरुरी छ ।’

यसअघि आइतबार बिहान सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन)ले नेपाल विद्युत प्राधिकरणसँगको संयुक्त आयोजनामा ‘विद्युत दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने नाराका साथ राजधानीमा प्रभातफेरीको आयोजना गर्‌यो। विद्युत दुर्घटनाबारे जनचेतना जगाउने उद्देश्यले आयोजित प्रभातफेरी रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्राङ्गणबाट शुरु भई भद्रकाली, न्युरोड, भोटाहिटी हुँदै पुनः प्राधिकरणमै पुगेर सभामा परिणत भएको थियो ।
प्रत्येक वर्ष सीनले आफ्नो स्थापना दिवसको अवसर पारेर चैत २६ गते ’विद्युतीय सुरक्षा दिवस‘’ मनाउँदै आएको छ

प्रतिक्रिया दिनुहोस्