साना उद्यमी व्यवसायीको आत्मविश्वास बढाउन खनालको उम्मेदवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुतर्फको कार्यकारिणी सदस्यमा इन्द्र खनालले उम्मेदवारी दिनुभएको छ । नेपाल सौर्य विद्युत् उत्पादक संघका निर्वतमान अध्यक्षसमेत रहनु भएका खनालले साना उद्यमी व्यवसायीका मुद्दालाई लिएर आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

देशको समग्र आर्थिक विकासका निम्ति ठूला उद्योगी व्यवसायीसँगै साना उद्यमी व्यवसायी पनि अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । ठूलाको हात समातेर साना अगाडि बढेको खण्डमा गन्तव्यमा पुग्न सकिने उल्लेख गर्दै उहाँले अहिले महासंघमा साना उद्यमी व्यवसायीका मुद्दा छायाँमा परिरहेको हुँदा उनीहरूका मुद्दा पनि राष्ट्रिय मुद्दा हुन् भन्ने बोध गराउन आफूले भूमिका खेल्ने बताउनुभयो ।

साना उद्यमी व्यवसायीले उत्पादन, निर्यात, रोजगारीलगायतका क्षेत्रमा योगदान दिँदै आएका छन् । तर, उनीहरूका समस्या र व्यवसाय विस्तारलगायतका विषयमा राज्यका नीतिगत तहमा आवाज पुग्न नसकेको यथार्थलाई बदल्नका निम्ति नेपाल उद्योग वाणिज्य महासंघमा आफ्नो उपस्थिति आवश्यक रहेको खनालको भनाइ छ ।

अहिले देखिएको तरलता अभाव, उच्च ब्याजदर उत्पादनले बजार नपाउनेजस्ता समस्याबाट व्यवसायीहरू पीडित छन् । नेपालमै गरिखान सकिन्छ भन्ने अनुभूति दिलाउँदै उद्यमी व्यवसायीको पलायनलाई रोकेर उनीहरूको आत्मविश्वास बढाउँदै अभिभावकीय भूमिका खेल्नुपर्ने आवश्यकता खनालले देख्नुहुन्छ । साथै साना उद्यमको विकासका निम्ति विभिन्न क्षेत्रमा देखिएका नीतिगत समस्या सुल्झाउनुपर्ने आवश्यकता रहेको खनालको भनाइ छ । अर्घाखाँचीबाट सम्भावना खोज्दै काठमाडौं आएपछि व्यापार व्यवसायमा संलग्न हुने क्रममा सौर्य विद्युत् उत्पादनका क्षेत्रमा खनाल लाग्नुभएको थियो ।

‘हुन त देशले आर्थिक फड्को मार्न ठूलो लगानीको आवश्यकता पर्छ तर सानो पुँजीबाट शुरु भएका उद्योग व्यवसायले पनि देशको समग्र अर्थतन्त्रमा योगदान पु¥याउन सक्छन् भन्ने कुरा भूकम्प, नाकाबन्दी, कोभिडका बेला प्रमाणित भएको छ,’ खनालले भन्नुभयो । यद्यपि, उनीहरुका समस्यामा स्वामित्व लिने काम नभएको खनालको बुझाइ छ । खनालले आफूलाई नेपालको पहिचानका रूपमा रहेको नवीकरणीय ऊर्जा क्षेत्रले साझा उम्मेदवारका रूपमा अगाडि सारेको उल्लेख गर्दै नेपालको आर्थिक विकासका निम्ति मात्रै होइन लगानीको नयाँ सम्भावनाको क्षेत्रका रूपमा पनि नवीकरणीय ऊर्जा रहेकाले महासंघमार्फत् आवश्यक भूमिका खेल्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्