लमजुङ बेसीशहरका महिलालाई उद्यमशिलता विकास तालिम



लमजुङ । 

बेसीशहर नगरपालिका वडा नं. ८ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ ।  पर्यटन तथा उद्योग कार्यालय लमजुङको आयोजन र लक्ष्मीनारयण सामुदायिक पुस्तकलयको समन्वयमा भएको उक्त तालिमको मंगलबार एक कार्यक्रमकाबीच बेसीशहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पवित्र थापा रानाले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापा रानाले अझै पनि महिलाहरु आर्थिक, समाजिक र राजनीतिक रुपमा शसक्त हुन नसकेको बताउनुभयो ।

समान अवसर र अधिकारका लागि  महिला स्वंय पनि जागरुक हुन जरुरी रहेको बताउनुभयो । स्थानीय सरकारले महिला शसक्तिकरणका नाममा लाखौँ बजेट खर्चेपनि सोचेअनुरुप उपलव्धी हासील हुन नसकेको उहाँको भनाई छ ।

महिलाहरु सधै सक्षम, आत्मनिर्भर र आयआर्जनमा जोडिन आवश्यक रहेको उहाँले बताउनुभयो । कुनै पनि तालिम लिइसकेपछि आफूले सिकेका सिप र ज्ञानलाई व्यवहारमा उर्तानुपर्ने भन्दै वडा अध्यक्ष थापा रानाले सहभागिहरुलाई पर्यटन तथा उद्योग कार्यालयले दिएको यो अवसरलाई अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो ।

पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिता कुमारी थापाले बेरोजगार व्यक्तिलाई उद्यमी व्यवसायिक रुपमा अघि बढ्न प्रेरित गर्ने उदेश्यले उद्यमशिलता विकास तालिम सञ्चालन गर्दै आएको वताउनुभयो ।

यस्ता खाले तालिमले सहभागिहरुलाई आफ्नो क्षमता पहिचान गर्न, व्यवसायिक योजना निमार्ण तथा सफल उद्यमी वन्न हौसला प्रदान गर्ने कार्यलय प्रमुख थापाले बताउनुभयो ।

१० दिनसम्म सञ्चालन हुने उक्त तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ । तालिम अवधिभर बेसीशहर नगरपालिकका उद्यम विकास शाखाका कर्मचारीद्धय अन्जु कुमारी राना र रिहा कुमारी थापा मगरले प्रशिक्षण दिनुहुनेछ ।

सहभागिहरुलाई व्यवसाय के हो र यसको महत्व, उद्यम कसरी गर्ने, व्यवसाय छनौट तथा व्यवसायिक परियोजना कसरी बनाउने,  लगानीको क्षेत्र पहिचान,  सफल उद्यमी हुनको लागि आवश्वयक गूण, बजारीकरण लगायतका वारेमा प्रशिक्षण दिइने प्रशिक्षक रिहा कुमारी रानाले वताउनु भएको छ ।

पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिता कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीनारयण सामुदायिक पुस्तकलयका अध्यक्ष नारायण बहादुर सुयल, उपाध्यक्ष सुशिल चन्द्र, प्रशिक्षार्थी मन्दिर दनाई, प्रशिक्षक रिहा कुमारी थापा लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन पर्यटन तथा उद्योग कार्यालयका लेखापाल ठाकुरप्रसाद ढकाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्