कृषकलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण



लमजुङ  । 

लमजुङको बेसीशहर नगरपालिकाले ५० प्रतिशत अनुदानमा गोला सहितको मौरी घार वितरण गरेको छ । कृषकहरुलाई मौरी पालनमा आत्मनिर्भर बनाउने उद्धेश्यले चालु आर्थिक बर्षको बजेटबाट ७५ जना कृषकलाई सोमबार एक कार्यक्रमका विच गोलासहितको मौरी घार वितरण गरेको हो ।

नगरपालिकाले आवेदन मागगरी छनोटमा परेका कृषकहरुलाई गोला सहितको मौरी घार वितरण गरेको हो । चालु आर्थिक बर्षमा एक सय ५० वटा गोला सहितको मौरी घार वितरण गर्ने कार्यक्रम रहेकोमा सोमबार ७५ घार वितरण गरिएको र बाँकी घार छिट्टै वितरण गरिने नगरपालिकाका कृषि विकास शाखाका प्रमुख सूर्य प्रसाद सेढाईले जानकारी दिनुभयो ।

गोलासहितको घारको मूल्य आठ हजार नौक सय ९० मा खरिद गरिएकोमा कृषकहरुलाई ५० प्रतिशत अनुदान अर्थात चार हजार चार सय ९५ रुपैयामा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख गुमानसिंह अर्यालले कृषकहरुलाई गोला सहितको घार वितरण गर्दै मौरी पालनबाट किसानहरुको आर्यआर्जनमा टेवा पुग्ने बताउनुभयो ।

व्यवसायिक मौरी पालन कृषक बनाउनका लागि समेत मदत पुग्ने अपेक्षाले मौरीको घार वितरण गरिँदै आएको नगरप्रमुख अर्यालले बताउनुभयो । वितरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले मौरी पालनबाट पनि राम्रो आम्दानी गर्न सकिने भएकोले पछिल्लो समय किसानहरु मौरी पालना उत्साहित भएको र नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।

नगरपालिकाले प्रत्येक बर्ष ५० प्रतिशत अनुदानमा किसानलाई गोला सहित र खाली घार समेत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इमानाथ कंडेलले प्रत्येक बर्ष आवेदन माग गरेपनि मौरी पालनका लागि आवेदन दिने किसानको संख्या अत्यधिक भएकोले छनोटका आधारमा वितरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्