सिन्धुलीको मरिण गाउँपालिकामा ३ वडा कार्यालय भवन निर्माण हुँदै



सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा एकै पटक तीन ओटा वडा कार्यालय भवनको निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको वडा नं. ३, ५ को कार्यालय भवन निर्माणको लागि गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले शिलान्यास समेत गर्नुभएको छ भने वडा नम्बर ७ को कार्यालय भवन निर्माणको लागि ठेक्का सम्झौता भई शिलान्यास गर्ने तयारी भईरहेको छ ।

३ नम्बर वडा कार्यालय भवन निर्माणको ठेक्का एल.एस. कन्ट्रक्सन मन्थली, रामेछापले पाएको छ । कुल ८७ लाख १५ हजार ४८८ रुपैयाँ लागतमा साढे दुई तलाको वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी एल.एस. कन्ट्रक्सनले ठेक्का लिएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो ।

उहाँका अनुसार ३ नम्बर वडा कार्यालय भवन आगामी २०८० साल फाल्गुन मसान्त सम्ममा निर्माण कार्य सक्ने लक्ष्यका साथ एल.एस. कन्ट्रक्सनले गएको फाल्गुन ५ गते सम्झौता गरेको छ । कार्यालय भवन नहुदाँ ३ नम्बर वडा कार्यालयले अहिले भाडाको घरबाट नागरिकलाई सेवा दिदै आएको छ ।

वडा कार्यालयलाई आवश्यक पर्ने पर्याप्त कोठाहरु नहुदाँ भाडाको घरबाट नागरिकलाई सेवा दिन कठिनाई भईरहेको वडा अध्यक्ष जीत बहादुर श्रेष्ठले बताउनुभयो । एल.एस. कन्ट्रक्सन मन्थली, रामेछापले नै ५ नम्बर वडा कार्यालय भवन निर्माणको लागि ठेक्का पाएको छ । कुल ८९ लाख ४९ हजार ४३९ रुपैयाँ लागतमा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी एल.एस. कन्ट्रक्सनले ठेक्का लिएको प्रमुख प्रशासकिय अधिकृत दर्जीले बताउनुभयो ।

साढे दुई तलाको भवन आगामी २०८० साल फाल्गुन मसान्त सम्ममा निर्माण कार्य सक्ने लक्ष्यका साथ एल.एस. कन्ट्रक्सनले गएको फाल्गुन ५ गते नै सम्झौता गरेको छ । त्यस्तै ७ नम्बर वडा कार्यालय भवन निर्माणको ठेक्का हरिहरपुरगढी गाउँपालिकाको समाज कन्ट्रक्सन एण्ड सप्लायर्सले पाएको छ ।

८५ लाख १९ हजार ६५५ रुपैयाँ लागतमा साढे दुई तलाको भवन निर्माण सम्पन्न गर्ने गरी समाज कन्ट्रक्सन एण्ड सप्लायर्सले ठेक्का लिएको प्रशासकिय अधिकृत दर्जीले जानकारी दिनुभयो । समाज कन्ट्रक्सन एण्ड सप्लायर्सले वडा कार्यालय भवन आगामी २०८० साल फाल्गुन मसान्त सम्ममा निर्माण कार्य सक्ने लक्ष्यका साथ गएको फाल्गुन १० गते गाउँपालिकासँग सम्झौता गरेको छ ।

भाडामा रहेका वडा कार्यालयहरुबाट नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा दिन कठिनाई भएकाले वडा कार्यालय भवनलाई गाउँपालिकाले प्राथमिकता दिएको अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो । अहिले सम्म वडा नं. २ र ४ मा आफ्नै सुविधा सम्पन्न भवन निर्माण भइसकेको छ भने अरु वडा कार्यालयहरु भाडाको घरबाट नागरिकलाई सेवा दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्