मिल्यो भाग बण्डा

रास्वपा र जनमोर्चा बाहेक ९ दलीय सरकार बन्ने



कठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीको भागबण्डा मिलेको छ । सत्ता गठबन्धन दलहरुबीच बुधबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालय बाँडफाँट मिलाएको हो । दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रालय विभाजनको सहमति गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुनेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन् । गठबन्धन भएको मन्त्रालयको भागबण्डा अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रास्वपालाई भने सरकारमा सहभागी नगराउने भएका छन् । पुस १० मा बनेको सत्ता समीकरण अनुसार उपप्रधान गृहसहित ३ मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको रास्वपा यस पटक सरकारमा सहभागि हुन खोजेपनि गठबन्धनमा सहभागि दलहरुलाई मन्त्रालय भाग पुर्याउनै सकस परेको थियो ।

बुधबारको सहमति अनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत २ र जसपालाई २ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कसले कुन मन्त्रालय लिने भन्ने विषयमा मोटामोटी सहमति भएपनि बिहीबार बिहानसम्म टुंगो लगाएर साझ मन्त्रीपरिषद विस्तारको तयारी भएको गठबन्नध दलका नेताहरुले बताएका छन् ।

पुस १० मा सरकारमा सहभागि रास्वपाका सभापति एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उहाँको मन्त्री तथा सांसद पद गएको थियो । त्यसपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नै पाउनुपर्ने दाबी गरेपनि प्रधानमन्त्री प्रचण्ड अनिच्छुक देखिएपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो यस पटक समेत विश्वासको मत दिएर सरकारमा जाने तयारीमा रहेको रास्वपालाई सत्ता गठबन्धन दलहरुले मन्त्रालय भागबण्डामा सामेल गराउन सकेनन ।

प्रतिक्रिया दिनुहोस्