अज्ञात समुहको खुकुरी प्रहारबाट रामेछापमा ८२ वर्षीय वृद्धको मृत्यु



रामेछाप ।

अज्ञात समुहको खुकुरी प्रहारबाट रामेछापमा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका ४ बेलालिका ८२ वर्षका शमशेर बहादुर थापा मगर रहेका छन् ।

उनी माथि सोमबार साँझ करिब साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात समूहले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो । भने मृतकको श्रीमती उपचारको लागि काठमाठौ गएकी स्थानीयले बताएका छन् । घरमा छोरीहरू भए पनि बाहिर गएको अवस्थामा सो घटना घटेको स्थानीयले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिनुभयो ।

यसअघि पनि बेताली भिमसेनथानस्थित सिरानघरकी अन्दाजी ७६ वर्षीया वृद्धा पदमकुमारी खड्काको आधा शरीर जलेको अवस्थामा शङ्कास्पद शव फेला परेको थियो । एक पछि अर्को गर्दै यस्ता घटना घट्न थालेपछि स्थानीयमा त्रास पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्