उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान



काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनको प्रयोजनका लागि बुधबारदेखि दल दर्ता गर्न आह्वान गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । प्रवक्ता अर्यालका अनुसार तनहुँ र बारामा हुने उपनिर्वाचनमा भाग लिन चाहने दलहरूले चैत्र १२ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने छ ।

चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई नागरिकता विवादमा सर्वोच्च अदालतले पदमुक्त गरेपछि आयोगले वैशाख १० गते चितवनमा उपनिर्वाचन गराउने क्रममा तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा पनि उपनिर्वाचन गराउनुपर्ने स्थिति उत्पन्न भएको थियो । यस अवस्थामा आयोगले प्रतिनिधिसभा सदस्य रिक्त रहेको दुई जिल्लामा वैशाख १० मै उपनिर्वाचन गराउने भनी गत सोमबार घोषणा गरेको थियो । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त दुई जिल्लामा पनि उपनिर्वाचन हुन लागेको हो ।

चितवनमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने काम सकिसकेको छ । गत फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकिएकोमा सो अवधिमा १८ दल दर्ता भएको आयोगले जनाएको छ । सो अवधिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दल दर्ता गरेका थिए । यसै गरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी), मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएको आयोगले जनाएको छ ।

दल दर्ता भएपछि प्र्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिह्न निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिने छ । त्यसपछि नेपालको संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने र दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गरिने आयोगले जनाएको छ ।

६ महिनाभन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । आयोगको कार्यतालिकाअनुसार आगामी चैत २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्