हरेक वर्ष थपिदै शहिदको सूची : काभ्रेमा २८४ शहिद



काभ्रे । 

सशस्त्र युद्धका क्रममा भएको मृत्यु, जनआन्दोलन र स्थानीय तहको निर्वाचनका क्रममा भएको हत्याका घटनामा मृत्यु भएका व्यक्तिहरूको सूचीलाई अन्तिम रूप दिँदै २ सय ८४ पुर्‍याइएको छ ।

यस अघि यो क्रममा मृत्यु भएको भन्दै सशस्त्र द्वन्द्वका घटनाका २ सय ६६ जनाले सरकारबाट दश लाखका दरले राहत बुझेका थिए । जनआन्दोलनका क्रममा साबिक उग्र चण्डी नाला गाविस ५ का भिमसेन दाहालको पोखरामा निधन भएको थियो भने वाल्टिङ्ग ७ का शिवहरी कुँवरको बनेपामा मृत्यु भएको थियो ।

त्यस्तै पनौती ७ घर भएका सगुना ताम्राकारको काठमाडौँमा निधन भएको थियो । त्यस्तै नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का नवराज पाठकको स्थानीय तहको निर्वाचनको अघिल्लो दिन २०७४ वैशाख ३० गते राति प्रहरीको गोली लागेर निधन भएको थियो ।

उनको हत्याका बारेमा आजसम्म छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन । सरकारले उनको क्षतिपूर्ति स्वरूप परिवारका सदस्यलाई राहात, रोजगार र बालबालिकालाई शिक्षा दिक्षाको जिम्मेवारी लिने शर्तमा आफन्तले शव बुझेका थिए ।

सशस्त्र युद्धमा बेपत्ता भएका मध्ये चार जनाका आफन्तले जिल्ला अदालतबाट न्यायिक मृत्यु घोषणाको माग गर्दै मृत्यु दर्ता गरिसकेका छन् । माओवादी र राज्य पक्षले बेपत्ता बनाएका व्यक्तिहरूको अझै खोजतलास हुन सकेको छैन भने परिवारले मृत्यु घोषणाका लागि प्रक्रिया समेत अघि बढाएको छैन ।

गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलिय बैठकमा द्वन्द्वमा मानव अधिकारका क्षेत्रमा कार्यरत भोजराज तिमल्सिनाले राखेको तथ्याङ्क तथा रिपोर्टिङलाई आधार मान्दै राजनीतिक दलहरूले आइतबार २ सय ८४ जनाको विवरण टुङ्गो लगाएका छन् ।

राज्यले राहत दिन बाँकी व्यक्तिहरूका हकमा उक्त निर्णय गृह मन्त्रालयले सदर गरे पछि बाटो खुल्नेछ । द्वन्द्वका क्रममा जिल्लाका रहेका ८७ गाविस मध्ये ७९ वटा गाविसमा व्यक्तिको हत्या भएको थियो । अधिकांश सार्वजनिक संरचनामा माओवादीले क्षति पु¥याएका थिए ।

यातना तथा चन्दाका कारण धेरै विस्थापित भएका थिए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ३६ महिला सहित २ सय ८४ जनाको प्रशोधन सहितको तथ्याङ्किय विवरण सर्वदलीय बैठक पछि गृह मन्त्रालयमा पठाउने निर्णय भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्