नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी



काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्ने बताएका छन् ।

सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले विश्वका अन्य देशहरूमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताए । उनले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने उल्लेख गरे ।

उनले भने, ‘नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ । तथ्याङ्क हेर्ने हो भने हामी सबैभन्दा बढी खर्च गर्छाैँ । राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको दर एकदमै कमजोर छ । आम्दानी बचतबाट नै गरिने हो । आम्दानी गर्दा बचत योजनाको छनोट र बैंकमा उपलब्ध सेवा हेर्नुपर्छ । विश्वव्यापी मुद्रा सप्ताह राष्ट्र बैंकले अभियानको रूपमा अगाडि बढाउन गइरहेको छ । एक हप्ता थप सिक्ने र मुद्रालाई सही सदुपयोग गर्ने, जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग पुर्‍याउनेछ ।’

गभर्नर अधिकारीले शेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताए । उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्