निर्दयी आमा : भारतबाट छोरा-छोरी नेपाल ल्याइन्, होटेलमा छोडेर गायव



धनगढी ।

कैलालीमा बझाङका २ बालबालिकाको उद्धार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट शनिवार २ बालबालिका उद्धार गरिएको हो।

प्रहरीका अनुसार बझाङको छान्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय दिपु गिरीको उद्दार गरिएको हो। अत्तरिया बसपार्क नजिकैको एक होटलमा अलपत्र अवस्थामा भेटिएका उनीहरुको उद्धार गरेर स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएका थिए।

उनीहरुले बालबालिका अलपत्र भेटिएको खबर पाएपछि उद्धार गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएको बताएका छन्। उद्दार गरिएका बालबालिकाले आफू आमासंगै आएको प्रहरी समक्ष बयान दिएका छन्। उनीहरुले आमाको नाम सिता गिरी र बुवाको नाम राजेश गिरी बताएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बरालले बताए।

बरालका अनुसार उनकी आमाले अत्तरियामा छोराछोरीलाई होटलमा छाडेर बेपत्ता भएकी छन्। भारतबाट आएर अत्तरिया बसापर्क नजिकैको राउला केदार होटलमा बसेकी बझाङको छन्नाकी सिता गिरी दुई जना छोराछोरीलाई छाडेर सम्पर्कविहीन भएकी छन् । बालबालिकाहरु आफ्नी आमासँगै भारतबाट आएका थिए।

प्रहरीले छोराछोरीलाई होटलमा छाडेर बेपत्ता भएकी गिरीको खोजी भइरहेको जनाएको छ। बालबालिकालाई अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्