सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता सुरु



डडेल्धुरा ।

डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका ४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयमा सर्वाधिक धनराशिको खुला भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

विद्यालयको ४८ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको समुदघाटन गर्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले भित्रिमधेस क्षेत्रको समग्र विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले योजनावद्ध रुपमा काम थालनी गर्ने बताउनु भयो ।

खेलकुद क्षेत्रको विकासबाटै मुलुकको समग्र विकासमा टेवा पुग्ने विश्वास ब्यक्तगर्दै उहाँले भित्रिमधेस क्षेत्रकै अग्रणी शैक्षिक प्रतिष्ठानका रुपमा रहेको भागेश्वर माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता मालले सुदूरपश्चिम प्रदेश हरेक क्षेत्रमा पिछडिएको अवस्थामा विकासका पूर्वाधारहरू निर्माण गरेर यहाँका बासिन्दाहरूको जीवनस्तरमा सुधार ल्याउन राज्यका तीन वटै तहले प्राथमिकताका साथ काम गर्न जरुरी रहेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिंह माल डायमण्डको अध्यक्षतामा सम्पन्न समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री पठानसिंह बोहराले अत्यन्तै संवेदनशील भू बनोट रहेको भित्रिमधेस क्षेत्रमा पर्यावरणमैत्री विकास निर्माण जरुरी रहेको औँल्याउनु भयो ।

महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता भएको विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले बताउनु भयो । उहाँका अनुसार पुरुषतर्फ १३ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् भने महिला तर्फ ९ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ, द्वितीय हुने टिमलाई ५० हजार एक सय ११ रुपैयाँ, तृतीय हुने टिमलाई २५ हजार एक सय ११ पुरस्कार प्रदान गरिने छ भने महिला तर्फ प्रथम हुने टिमलाई ५० हजार एक सय ११, द्वितीय हुने टिमलाई २५ हजार एक सय ११ रुपैयाँ, तृतीय हुने टिमलाई १३ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

वार्षिकोत्सवका अवसरमा सामुदायिक वनहरुबीच खुल डेउडा प्रतियोगिता समेत आयोजना गरिएको विद्यालयले जनाएको छ । वार्षिकोत्सवका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्