ठूलाे काग हेर्न गागलफेदी शहीद पार्क जाऔं



काठमाडौं ।

विश्वको सबैभन्दा ठुलो कागको मूर्ति काठमाडौंको गागलफेदीस्थित चिहानडाँडा शहिदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झन्डै २ हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहिदपार्कमा निर्माण गरेपछि त्यो हेर्न आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक दर्जनौँदेखि सयौँ जना शहिदपार्कमा कागको मूर्ति हेर्नेको संख्या बढ्दो छ ।

यो कागको मूर्ति विश्वकै ठुलो भएको कागेश्वरी मनोहरा नगरपालिका १ का वडाध्यक्ष मुकुन्द गजुरेलले बताए । उनका अनुसार १४ सय किलो बराबरको कागको मूर्ति अमेरिकामा रहेको भएपनि त्यो भन्दा ठुलो अर्थात् १९ सय ३२ किलोको कागको मूर्ति शहिदपार्क चिहानडाँडामा राखिएको हो । र, यो कागको मूर्ति हेर्न पछिल्लो समय काठमाडौं उपत्यकाबाट आन्तरिक पर्यटक शहिदपार्क चिहानडाँडा पुग्ने गरेका छन् । जहाँ घुम्न तथा वनभोज खान मिल्ने गरी पार्क निर्माण गरिएको छ भने कागको मूर्ति विशेष रुपमा सजाइएको छ ।

शनिबार कागेश्वरीको महादेव मन्दिरमा एनटीपी मल्टिमिडिया ग्रुपले आयोजना गरेको कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका १ नं। वडाध्यक्ष गजुरेलले शहिदपार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परिरहेको बताए ।

‘विश्वको सबैभन्दा ठुलो कागको मूर्ति हामीले बनाएपछि गागलफेदीको चिहानडाँडा शहिदपार्कमा आन्तरिक पर्यटक बढिरहेका छन् । त्यसबाहेक उपत्यकाबाट नजिकै पर्ने भएकाले शहिदपार्क, कागेश्वरी महादेव मन्दिर, मणिच्युड, शिवधामको मानव निर्मित ताल हेर्ने पर्यटकको संख्या बढ्दै छ’ उनले कार्यक्रममा भने ।

साथै उनले कार्यक्रममा विश्वको सबैभन्दा ठुलो काग हेर्न गागलफेदी चिहानडाँडामा निर्माण गरिएको शहिदपार्क घुम्न पनि आह्वान गरे । ‘कागेश्वरीको मुख्य आकर्षण र पर्यटकीय क्षेत्रका रुपमा शहिदपार्क बनिरहेको छ । विश्वको सबैभन्दा ठुलो काग हेर्नलाई गागलफेदी शहिदपार्क जाऔँ ।’

नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा शहिदपार्क तथा कागेश्वरी महादेव मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माण गरिएको छ । शहिदपार्कमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने कागेश्वरी मन्दिरमा हिड्नेका लागि ट्रेल तथा पार्क निर्माणको काम चलिरहेको छ ।

कागेश्वरी मन्दिरमा रहेको सानो झरनाले पनि आन्तरिक पर्यटकको ध्यान तानिरहेको छ । मन्दिर पुगेका धेरै आन्तरिक पर्यटक फोटो तथा भिडियो बनाउँदै सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम र टिकटकमा अपलोड गर्दै आएका छन् । यसले आन्तरिक पर्यटन वृद्धि गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका पूर्वमन्त्री रामेश्वर फुयालले मनमोहन सिंह, मदन भण्डारीको पालादेखि कागेश्वरी मनोहराका पर्यटकीय क्षेत्रको प्रचारप्रसार, पूर्वाधार निर्माण र व्यवस्थापन तथा प्रवद्र्धनको काम भइरहेको बताए ।

आफू पटक पटक सांसद हुँदा यस क्षेत्रको विकासका लागि अनवरत काम गरिरहेको पनि उनले बताए । शहिदपार्क निर्माण, कागेश्वरी मन्दिर व्यवस्थापन तथा पूर्वाधार र बाटो निर्माणको बजेट व्यवस्थापनका लागि आफूले सुरुदेखि काम गर्दै आएको पनि उनले बताए ।

यस्तै ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च भिटोफका अध्यक्ष गोपाल थापाले काठमाडौं उपत्यकालाई नजिकबाट नियालेर स्वास्थ्य हावा खाँदै कागेश्वरीको माथिल्लो क्षेत्रलाई विकास गर्न सकिने बताए । पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेकाले आगामी दिनमा कागेश्वरीको चिहानडाँडा, शहिदपार्क, महादेव मन्दिर, बज्रयोगिनी, मणिचुड लगायतका ठाउँ प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास हुने उनले बताए ।

यस्तै पछिल्लो समय चर्चित बन्दै गएको घुमन्ते टिमका बजार व्यवस्थापक मनिष रुचालले काठमाडौँ उपत्यकाबाट नजिकै आन्तरिक पर्यटकको रोजाईको क्षेत्र बनाउन पर्यटन सम्बद्ध संघ संस्था, ट्राभल कम्पनी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जोडेर सक्रिय बनाई काम गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण पत्रकार विष्णु विवेकले गरेका थिए ।

एनटीपी मल्टिमिडिया ग्रुपको ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको हो । कागेश्वरी मन्दिरमा गरिएको यो कार्यक्रम एनटीपी मल्टिमिडिया ग्रुपको दोस्रो कार्यक्रम हो ।

यसअघि गोकर्णेश्वर नगरपालिकाको गोकर्ण शहिद पार्क जगडोलमा पहिलो कार्यक्रम गरिएको थियो । नेपालका १०० वटा पालिकाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार, प्रवर्द्धन, पूर्वाधार विकास र व्यवस्थापनको लागि एनटीपी मल्टिमिडिया ग्रुपले बहस चलाउँदै आएको छ ।

अहिले पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम काठमाडौँ उपत्यकाका विभिन्न पालिका र पर्यटकीय क्षेत्रमा सञ्चालन भइरहेको हो । काठमाडौँ उपत्यकाका विभिन्न पालिकामा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि आगामी वैशाखमा काठमाडौँको वसन्तपुरमा एनटीपी मल्टिमिडिया ग्रुपले बहसमूलक पहिलो नेपाल पर्यटन महोत्सव अर्थात् ‘नेपाल टुरिजम फेस्टिभल’आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्