फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउने गगनको दाबी



बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताउनुभएको छ । उहाँले १० गतेभित्र अँध्यारोमा आएर नभई दिउँसो उज्यालोमा आएर भत्काउने प्रयत्न रहने बताउनुभयो ।

कांग्रेस रूपन्देही क्षेत्रनम्बर १ ले सोमबार तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताउनुभएको हो ।

महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेटविपरीत बनेको वर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गर्नुभयो ।

उहाँले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचन पछि सरकार बन्दा अर्को गठबन्धन हँुदा जनतामा नैराश्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेटअनुसार सत्ता गठबन्धन अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनैतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ ।

नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उहाँले दाबी गर्नुभएको छ । फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दाबी गर्नुभएको छ ।

उहाँले सत्ता र शक्तिको दुरूपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिंहदरबारबाटै शीतल निवासको लेटरप्याड र रबर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने उल्लेख गर्नुभयो । महामन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा तथा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि कांग्रेसको विकल्प नभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्