जनयुद्ध दिवसकै दिन विप्लवका कार्यकर्तालाई ‘उर्दी’

सम्झौता एकातिर, सूचना अर्कोतिर



काभ्रे।

जनयुद्ध दिवसकै दिन २०७९ फागुन १ गते सरकारसँग सम्झौता भएको दुई वर्ष पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुलाई हाजिर हुन आउन गोरखापत्र दैनिक मार्फत म्याद जारी गरेको छ ।

अदालतले सार्वजनिक भौतिक संरचनाको विनाश तथा विस्फोटक पदार्थ  सम्बन्धी मुद्दामा भएको आदेश बमोजिम हाजिर हुन म्याद जारी गरेको हो । ‘सरकार र उक्त पार्टीबीच भएको सम्झौताका बारेमा जिल्ला अदालतमा कुनै जानकारी छैन’– श्रेस्तेदार उपसचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘सरकारसँग भएको सम्झौता प्राप्त भएको छैन । नियमित प्रक्रियामा रहेका मुद्दाहरुमा भएको आदेश कार्यान्वयनका लागि मुद्दामा संलग्न अभियुक्तहरुलाई म्याद जारी गरिएको हो ।

म्यादमा को कुन पार्टीका भन्ने थाहा पनि छैन र हुँदैन पनि ।’ अदालतमा प्रहरीले दर्ता गरेको मुद्दा सरकार र विप्लव समूहबीच सम्झौता हुनु अगावैको हो । तर पनि सरकारसँग भएको सम्झौता अदालतमा लामो समयसम्म आईनपुग्दा अदालतले आफ्नो प्रकृया अघि बढाएको हो ।

मुद्दा दर्ता भएका मध्ये अधिकांश व्यक्ति विप्लव समूहमा छैनन् । धुलिखेल ९ का कान्छा लामा दुई वर्ष अघि नै एमालेमा प्रवेश गरेका थिए भने खानिखोला ५ का रेशम नेपाली पनि विप्लव समूह छाडेर एमालेमा प्रवेश गरिसकेका छन् । अन्य कार्यकर्ताहरु पनि सोही पार्टीमा छैनन् । केही केही नेताहरु सोही पार्टीमा क्रियाशील छन् ।

शान्ति प्रक्रियामा आएको उक्त पार्टीका कार्यकर्ताहरु गोरखापत्र हेरेर हाजिर गर्न जाने कि नजाने अनभिज्ञमा परेका छन् । केहिले बाहेक अरुले उक्त सूचनाका बारेमा आफूलाई जानकारी नभएको बताए । अदालतले सार्वजनिक भौतिक संरचनाको विनाश मुद्दामा मण्डनदेउपुर ३ का चमार सिं लामा, धुलिखेल ९ का कान्छा लामा, चौरीदेउराली ६ का डिल्लीप्रसाद दुलाल, पनौती ४ का  हुद्दबहादुर वाइबा, मण्डनदेउपुर १० का शंकरप्रसाद नेपाल, धुलिखेल ६ का सुवास देवजु, मण्डनदेउपुर १० का भोलाप्रसाद नेपाल, चौरीदेउरली ३ का यादव ढुङ्गेल, पनौती ४ का सुन्दर रायमाझी, पनौती ४ का अनिल रायमाझी छन् ।  सुन्दर र अनिल दाजुभाइ हुन् ।

त्यस्तै विस्फोटक पदार्थ मुद्दामा रामेछाप उमाकुण्ड ६ का शरद रसाइली, चौरीदेउरली ५ का लेखराज गजमेर, मण्डनदेउपुर २ का कान्छा लामा, खानीखोला ५ का रेशम नेपाली, खानीखोला ५ का प्रताप तामाङ गोले रहेका छन् ।

अदालतबाट जारी भएको म्याद बेपत्ता तामेल भई आएकाले अदालतको आदेश अनुसार प्रतिवादीहरूका नाममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८(१३) बमोजिम अभियुक्तहरुलाई हाजिर हुन आउन सूचना प्रकाशन भएको मितिले बाटोको म्याद बाहेक उल्लेखित म्याद भित्र अदालतमा उपस्थित हुन सूचना प्रकाशन गरेको छ । अदालत उपस्थित नभई म्याद गुजारी बसेमा कानुन बमोजिम हुने उल्लेख गरिएको छ । पछि कुनै उजुर बाजुर नलाग्ने सूचनामा उल्लेख गरिएको छ ।

२०७७ फागुन २१ गते तत्कालीन केपी ओली नेतृत्वको सरकार र विप्लव समूहका प्रमुख नेत्रविक्रम चन्दबीच तीन बुँदै सम्झौता भएको थियो । सम्झौतामा दुवै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको, नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको उल्लेख गरिएको थियो ।

तत्कालीन सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव समूहले खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली बनाएको थियो । दुवै तर्फका वार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए ।

यी हुन् हाजिर आउन उर्दी जारी गरिएको कार्यकर्ताहरु

सार्वजनिक भौतिक संरचनाको विनाश मुद्दाका अभियुक्तहरु

मण्डनदेउपुर ३ का चमार सिं लामा

धुलिखेल ९ का कान्छा लामा

चौरीदेउराली ६ का डिल्लीप्रसाद दुलाल

पनौती ४ का  हुद्दबहादुर वाइबा

मण्डनदेउपुर १० का शंकरप्रसाद नेपाल

धुलिखेल ६ का सुवास देवजु

मण्डनदेउपुर १० का भोलाप्रसाद नेपाल

चौरीदेउरली ३ का यादव ढुङ्गेल

पनौती ४ का सुन्दर रायमाझी

पनौती ४ का अनिल रायमाझी

(सुन्दर र अनिल दाजुभाइ हुन् । ) 

विस्फोटक पदार्थ मुद्दामा 

रामेछाप उमाकुण्ड ६ का शरद रसाइली

चौरीदेउरली ५ का लेखराज गजमेर

मण्डनदेउपुर २ का कान्छा लामा

खानीखोला ५ का रेशम नेपाली

खानीखोला ५ का प्रताप तामाङ गोले

 

प्रतिक्रिया दिनुहोस्