साइवर अपराध र लागूऔषध नियन्त्रणमा जोड दिन्छु : प्रनाउ कुँवर



 म्याग्दी ।

म्याग्दीका नव आगन्तुक प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन कुँवरले साइवर अपराध र लागूऔषध नियन्त्रणमा जोड दिने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज (आइतबार) आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नव आगन्तुक डिएसपी कुँबरले पछिल्लो समय साइवर अपराध र लागूऔषध समस्याको रुपमा रहेको बताउँदै यसको समाधानका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले साइवर अपराध र लागूऔषधलाई नियन्त्रण गर्न आवश्यक कार्ययोजना निर्माण गरी सरोकारवाला निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिनुभयो ।

साइवर अपराध तथा लागूऔषध नियन्त्रण गर्ने आफ्नो मुख्य योजना रहेको सुनाउँदै डिएसपी कुँबरले म्याग्दीमा पनि लागूऔषध समस्याको रुपमा रहेको आफूले बुझेको बताउनुभयो । उहाँले जिल्लामा शान्ति, सुरक्षालाई मजबुत बनाउने विषयमा आफू कटिबद्ध भएर लाग्ने भन्दै लागूऔषध र साइवर अपराधसम्बन्धी घटनाहरुलाई न्युनीकरण गर्न बालबालिकादेखि किशोरकिशोरीहरुलाई लक्षित गरेर सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनमा जोड दिइने बताउनुभयो । लागूऔषध र साइवर अपराधका घटना भएमा कानुनअनुसार कारवाही गर्ने उहाँको भनाइ छ ।

डिएसपी कुँबरले प्रहरी कार्यालयमा आएर सर्वसाधारण, नागरिकहरुले सहज रुपमा सेवा पाउने वातावरण निर्माण गर्ने र यसको प्रभाव आगामी दिनमा तुरुन्तै देखिने पनि दावी गर्नुभयो । उहाँले प्रहरी कार्यालयबाट उपलब्ध हुने सबैखाले सूचना प्रवाहमा कुनै पनि समस्या नहुने बताउँदै सूचनाहरु सबैले सहज रुपमा प्राप्त गर्ने वातावरणको सिर्जना हुने बताउनुभयो । कार्यालयमा सेवाग्राहीमैत्री वातावरण तयार गर्ने र प्रहरी कार्यालयमा सहज रुपमा सेवा लिने अवस्थाको सिर्जना गर्ने बताउँदै उहाँले कसैको दवाव, प्रभाव र भनसुनमा रहेर कुनै पनि घटनालाई कमजोर नबनाउने समेत उल्लेख गर्नुभएको छ ।

पछिल्लोपटक सामाजिक सञ्जालको माध्यमबाट ठगी गर्ने, अपराधिक क्रियाकलाप हुने जस्ता साइबर अपराधका घटनाहरु बढ्न थालेको बताउँदै डिएसपी कुँबरले त्यसलाई रोकथाम र नियन्त्रण गर्नको लागि समेत विशेष कार्यक्रम ल्याउने बताउनुभयो । शनिवार मात्रै जिल्ला प्रहरी कार्यालयले २०७७ पुस ५ गते जिल्ला अदालत म्याग्दीबाट लागूऔषध दुव्र्यसनी मुद्दामा दोषी ठहर भएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको उहाँले जानकारी दिनुभयो । उहाँले विभिन्न मुद्दामा फरार रहेकाहरुको पनि खोजी गरिएको बताउनुभयो ।

डिएसपी कुँबरले सरोकारवालाहरुको सुझावको आधारमा लागूऔषध दुव्र्यसनी तथा अपराध नियन्त्रण, रोकथाम, दुर्घटना न्युनीकरण, सामाजिक बिकृति एवं विसङ्गति र आपराधिक क्रियाकलाप रोकथाम गर्न आफू केन्द्रीत हुने बताउनुभयो । नव आगन्तुक डिएसपी कुँबरसँगको भेटघाटमा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुले जिल्लामा प्रहरीको दायित्व, समग्र शान्तिसुरक्षाको अवस्थालगायत विषयमा जानकारी गराएका थिए ।

जिल्लामा क्रियाशील पत्रकारहरुले प्रहरीले यसअघि सञ्चालन गरेका मुस्कानसहितको सेवा, प्रहरी–समुदाय–साझेदारी, नागरिक सुनुवाई, प्रहरीसँग आमा कार्यक्रमलगायत कार्यक्रमलाई समुदायस्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेकोमा आ–आफ्नो धारणासहित सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्