निवर्तमान मन्त्री खनालको बिदाइ

दुई सचिवले भने : मन्त्रीज्यू ‘फेरि भेटौंला’



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका शिक्षा सचिव रामकृष्ण सुवेदीले सोमबार मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो– ‘दिउँसो २ बजे मन्त्रीज्यू, धन्यवाद दिन आउँदै हुनुहन्छ, सभाहलमा तयार गर्नुस्’ । शिक्षा सचिवको निर्देशनअनुसार सबै विभागीय प्रमुखहरू सोमबार निर्धारित समयमा मन्त्रालयको सभाहलमा उपस्थित भए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल मन्त्रालयको सभाकक्षमा प्रवेश गरिसकेपछि विज्ञान तथा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्यले भन्नुभयो– ‘यो कार्यक्रम मन्त्रीज्यूले धन्यवाद दिने मात्रै होइन, ‘फेरि भेटौंला’ कार्यक्रम हो । हामीले सोचेका थिएनौं, यति चाँडै मन्त्रीज्यूले मन्त्रालय छाड्नुहन्छ होला भनेर । तर, राजनीतिमा के के हुन्छ हामीलाई थाहा हुँदैन, अन एक्स्पेक्टेड भयो ।’

मन्त्री खनालको २० दिनको कामको प्रशंसा गर्दै उहाँले भन्नुभयो– ‘केही गरौंला भन्ने विश्वास जागेको थियो तर मन्त्रीज्यूलाई २० दिनमै बिदाइ गर्नुप¥यो । ठूलो आशा गरेका थियौं, केही सफल हुन खोजेका थियौं हुन सकेन । तैपनि आशावादी छौं ।’

विज्ञान सचिवले बोलेलगत्तै ‘फेरि भेटौंला’ मन्तव्य राख्दै शिक्षा सचिव सुवेदीले भन्नुभयो– ‘यति लामो समय शिक्षाको कर्मचारी भएर काम गर्ने मौका पाएँ , शिक्षामा अधिकृत भए, उपसचिव भए अहिले सचिव भएको छु, नेपालको शिक्षा क्षेत्रमा यस्तो कहिल्यै देखिनँ र भोगिनँ पनि ।’ राजनीति कुरासमेत गर्न भ्याएका सचिव सुवेदीले राजनीतिक कारणले मन्त्री पद गुमाउनुपरेको टिप्पणी गर्दै भन्नुभयो– ‘शिक्षा बुझेका युवा हामीले मन्त्री पाएका थियौं, हालसम्म को–को शिक्षामन्त्री हुनुभयो मलाई राम्ररी जानकारी छैन, मन्त्रालयमा त्यसको सूची पनि छैन । तर, तपाईंजस्तो युवा मन्त्री हामीले कहिल्यै पाएका थिएनौं । सोमबार नगरपालिका संघसँग सम्झौता गर्ने कार्यक्रम थियो हुन सकेन, विश्वविद्यालय अनुदान आयोगसँग विश्वविद्यलयको क्यालेन्डरमा एकरूपता दिने कार्यक्रम थियो, त्यो पनि भएन ।’

फेरि भेटौंला समारोहमा सचिव सुवेदीले सरकारको न्युनतम साझा कार्यक्रममको खाका तयारी गरी छलफलको क्रममा रहेको जिकिर गर्दै प्राविधिक शिक्षा विधेयकका मस्यौदाको विषयमा छलफल भएर मन्त्री परिषद्मा लैजाने तयारी र शिक्षा ऐन ल्याउने विषयमा छलफल पनि त्यतिकै हराउने चिन्ता पनि व्यक्त गर्नुभयो ।

दुई सचिवको भनाईसँगै मन्त्री खनाललाई उपहारसहित फेरि भेटौंला मन्त्रीज्यू भन्दै बिदाइ गरिएको थियो ।

पद होइन, अवसरको रूपमा लिएको छु : निर्वतमान मन्त्री खनाल 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा २० दिन कार्यभार सम्हाल्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले आफूले छोटो समयमा मन्त्रालयको विषयमा धेरै जानकारी हासिल गर्न पाएको बताउनुभयो । सोमबार मन्त्रालयका आयोजित बिदाइ कार्यक्रममा शिक्षामन्त्री हुँदा आफूले सबै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पु¥याउन दिनरात लागि परेको बताउनुभयो । उहाँले जनतासँग जोडिएका विषयलाई आफूले उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै भन्नुभयो– ‘नो अब्जेक्सन लेटर(एनओसी) मा हुने गरेको भन्झट हटाउन र विश्वविद्यालयको क्यालेन्डर तयार गरी पढाइमा एकरूपता कायम गर्ने विषयलाई कार्यान्वयनमा ल्याउन प्रयास गर्दै थिएँ ।’

उहाँले मन्त्रीलाई पदको रूपमा नभई अवसरको रूपमा लिएको जिकिर गर्दै भन्नुभयो– ‘कुनै पनि दलको भागबण्डामा नपर्ने यो मन्त्रालयमा मैले आफंै आउन खोजेको थिएँ तर सफल भए । अब फेरि नआउला भन्न सकिँदैन, सहकार्य गर्न मन छ, अर्को पटक गरौंला । म त मन्त्री नभए पनि सांसद त हुँ नि तपाईंहरूलाई शिक्षा क्षेत्रको विकासको लागि परामर्श गर्न मलाई योग्छ छ भन्दििनुहोला ।’

करिब १० मिनेट बोल्नुभएका निवर्तमान मन्त्री खनालले भन्नुभयो– ‘यो मन्त्रालयमा फरक ढंगले सोच्ने इनर्जी पाइयो, अझै केही गर्ने चाहाना बढेको छ ।’ फरक प्रसंगमा उहाँले भन्नुभयो– ‘राजनीति हो, हामी पनि बुझ्दै छौं, एक दुई महिना हेरांै, केही दिनमै हामी नर्फकौंला भन्न सकिदैन । साँढेको जुधाइ, बाच्छाको मिचाइमा परेका हौं, केही दिनलाई बाहिरै बस्ने पार्टीको निर्णयलाई सबैले पालना गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्