रक्षामन्त्रीद्वारा जंगी अड्‍डाको निरीक्षण



काठमाडौँ।

रक्षामन्त्री हरि प्रसाद उप्रेतीले जंगी अड्‍डाको निरीक्षण भ्रमण गर्नु भएको छ । रक्षामन्त्रीमा नियुक्त भएपश्चात उहाँले पहिलो पटक शुक्रबार जंगी अड्‍डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिनु भएको हो ।

जंगी अड्‌डामा आयोजित विशेष कार्यक्रममा मन्त्री उप्रेती समक्ष नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेका विविध गतिविधिहरुको जानकारी गराइएको थियो ।

कार्यक्रमका क्रममा प्रधान सेनापति प्रभुराम शर्माले नवनियुक्त रक्षामन्त्रीज्यूलाई बधाई ज्ञापन गर्नु हुँदै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जंगी अड्‍डामा स्वागत गर्नु भयो । उहाँले नेपाली सेना सम्पूर्ण नेपालीहरुको छोराछोरीहरु सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको उल्लेख गर्नु हुँदै सेनाले विधिसम्मत ढंगले प्राप्त जिम्मेवारीहरु समर्पित तवरले पुरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको कुरा बताउनु भयो ।

उहाँले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशहरुबाट श्रृजित चूनौतीहरु सम्बोधन, समाधान र न्यूनीकरण गर्न नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको एवं त्यसमा नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त हुँदै आएको सहयोग प्रति कृतज्ञता प्रकट गर्दै यस्तो सहयोगको निरन्तरता प्रति आफ्नो विश्‍वास व्यक्त गर्नु भयो ।

प्रधान सेनापति शर्माले सरकारले नेपाली सेनालाई सुम्पिएका जिम्मेवारी एवं संविधानप्रदत्त दायित्वहरु निर्वाह गर्दा विद्यमान कानूनी प्रावधानहरु पुरा गर्दै अगाडी बढ्नु पर्ने मान्यतामा नेपाली सेना अडिग रहेको प्रष्ट्याउनु भयो ।

कार्यक्रममा रक्षा सचिव श्री किरणराज शर्माले विपद् व्यवस्थापन लगायत नेपाली सेनाको समग्र क्षमता विकास गर्ने एवं नेपाली सेनालाई आत्मनिर्भर बनाउदै लैजाने कुरामा रक्षा मन्त्रालय र नेपाल सरकारको विशेष जोड हुनु पर्ने उल्लेख गर्नु भयो।

कार्यक्रममा रक्षामन्त्री उप्रेतीले आफ्नो पहिलो जंगी अड्‍डा भ्रमणका क्रममा नेपाली सेनाबारे दिइएको जानकारीका लागि धन्यवाद व्यक्त गर्नु भयो।

उहाँले राष्ट्रिय एकीकरण अभियानको प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्‍न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिकाको प्रशंसा गर्नु भयो ।

रक्षामन्त्रीले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पदै आएका थप दायित्वहरु निर्वाहमा अब्बल रहँदै आएको नेपाली सेना, नेपाल सरकार तथा नेपाली जनताको भरोसाको केन्द्रका रुपमा रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको चर्चा गर्दै हाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने देशहरु मध्ये दोश्रो भएतापनि विश्‍व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधै अग्रपंक्तिमा रहेको र यसबाट आफू अत्यन्तै खुसी हुने गरेको उल्लेख गर्नु भयो ।

रक्षामन्त्रीले हरेक विपद्को घडीमा नेपाली जनताको साथमा रहँदै आएको नेपाली सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानहरुसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान दिँदै आएको बताउनु भयो । उहाँले हालै बहुचर्चित राष्ट्रिय गौरवको काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भैरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको बताउदै आयोजना पुरा गर्ने क्रममा देखा परेका चूनौतीहरुलाई सम्बोधन गर्दै गुणस्तरीय ढंगले, छिटो कार्यसम्पन्‍न गर्न आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने विश्‍वास दिलाउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्