कांग्रेस नै संसद्को प्रमुख प्रतिपक्षी दल



काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता प्राप्त गरेको छ । संसद्को दोस्रो, तेस्रो चौथो र पाँचौंलगायत सात राजनीतिक दल सम्मिलित सरकारलाई विश्वासको मत दिएसँगै विपक्षी दल को भन्ने अन्योलका बीच सोमबार संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो ।

सबैभन्दा ठूलो दलको हिसाबले सरकार गठनको पहिलो म्यान्डेड पाएको कांग्रेसले तत्कालीन गठबन्धन जोगाउन नसकेपछि प्रतिपक्षी बेन्चमा बसेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि विपक्षी दलको हैसियतसमेत गुमाएको टिप्पणी खेप्दै आएको कांग्रेसले अन्ततः सदनमा प्रतिपक्षको भूमिकामा प्रस्तुत हुने जिम्मेवारी पाएको छ ।

संसद् सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको पत्र पठाएको जनाएको छ । यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको सांसदहरूले बताएका छन् । सोहीअनुरूप सचिवालयले पत्र पठाएको नेपाली कांग्रेसका प्रवक्ता एवं प्रतिनिधिसभा सांसद डा प्रकाशशरण महतले जनाकारी दिनुभयो । ‘ हामी प्रमुख प्रतिपक्षी बेन्चमै थियौं’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘बाहिर अनावश्यक हल्ला गरियो । सरकारलाई विश्वासको मत दिए पनि कांग्रेसले प्रतिपक्षमै बसेर सरकारको खबरदारी गर्ने र जनताका एजेन्डाहरू संसद्मार्फत उठाउने छौं ।’

सचिवालयल पठाएको पत्रमा भनिएको छ, ’प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९÷०८० च.नं. ४५ मिति २०७९÷०९÷२९ को पत्रबाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई विश्वासको मत दिएपछि कांग्रेसको आलोचना हुँदै आएको थियो । उक्त आलोचना अनावश्यक भएको कांग्रेसले जनाएको छ । विश्वासको मद दिनेबित्तिकै विपक्षमा बस्न पाइँदैन भन्नु तर्कसंगत नभएको कांग्रेस सहमहामन्त्री एवं सांसद जीवन परियारले बताउनुभयो । डा. शेखर कोइराला समूहले सरकारलाई कांग्रेसले विश्वासको मत दिएर गलत गरेको कुरा सार्वजानिक भए पनि उक्त विषयमा केही निर्णय नभएको नेता परियारको भनाइ छ ।

उक्त समूहको बैठकमा सरकारलाई विश्वासको मत दिनु गलत थियो भन्ने निर्णय नभएको उहाँले पुष्टि गर्नुभयो । परियारले भन्नुभयो– ‘पार्टीले गरेको निर्णयका विरुद्धमा हामीले निर्णय गर्ने कुरै हुँदैन । बरू प्रमुख प्रतिपक्षीको मान्यता स्वतः कांग्रेसले पाउने व्यवस्था भएकाले संसद्मा केही दलहरुले उठाएको कुरा ठीक भएन भन्ने विषयमा छलफल भएको थियो ।’ ‘संसद् सचिवालयबाट उक्त विषयको टुंगो लागिसकेकाले अब हामी संसद्मा प्रतिपक्षको भूमिकालाई सशक्त बनाउँछौं’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्