मतदाता नामावली संकलन कार्य पुनः चालु



काठमाडौं । निर्वाचन आयोगले झन्डै सात महिनादेखि स्थगित गरेको मतदाता नामावली संकलन गर्ने कार्यलाई पुनः चालु गरेको छ ।

आयोगले देशभरका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने कार्य चालु गरेको हो । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका मिति (मंसिर ४ गते आइतबार) घोषणा गरेको दिन गत श्रावण १९ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको थियो । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ ।

आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार जिल्लास्थित कार्यालयबाट प्रि–इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत सीधै नामावली संकलन गर्दा निकै चाप बढेका कारण सर्वसाधारणले विगतमा निकै सास्ती व्यहोर्नुपरेको थियो । विगत अनुभवलाई समिक्षा गर्दै अनलाइन प्रणालीबाट नामावली संकलन गर्ने कार्यलाई निरन्तरता दिइएको हो ।

‘१८ वर्ष पुगेका नेपाली नागरिकले अनलाइनबाट मतदाता नामावलीमा नाम समावेश गर्नको लागि आवेदन दिन सक्नेछ’, सहसचिव श्रेष्ठले भन्नुभयो– ‘कसैले पनि दोहोरो नाम दर्ता नगराउन पनि आग्रह गर्न चाहन्छु ।’

आयोगले यसपटक २०७९ मंसिर ४ गतेदेखि १८ वर्ष उमेर पुगेका र मतदाता नामावली नाम समावेश भएका मतदाता नामावलीहरू संकलन गर्ने छ । आयोगका अनुसार गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदातामा ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला, ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष र १ सय ८५ जना अन्य गरी कुल मतदाता गरी १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेका छन् ।

त्यसै गरी कुनै व्यक्तिले बाहिरी जिल्ला मतदातामा नामावलीमा संकलन गर्न, आफ्नो मतदाता नामावलीमा रहेको विवरणको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित अनलाइन प्रणालीबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।

यसका साथै विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिर्वतन गर्न चाहेमा अनलाइन प्रणालीमार्फत सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने पनि सहसचिव श्रेष्ठले बताउनुभयो । यसरी निवेदन दिँदा मतदाता नामावली ऐन २०७३ को दफा ९ बमोजिमका प्रमाण विवाह दर्ता वा बसाइसराइ प्रमाणपत्र पेस गर्नुपर्ने पनि आयोगले सबैलाई सूचना दिएको छ ।

आयोगका अनुसार मतदाता नामावलीमा नाम भएको कुनै मतदाताको मृत्यु भएको भनी एकाघरको परिवारको कुनै सदस्यले मृत्यु दर्ताको प्रमाणपत्रसहित निर्वाचन कार्यालयमा निवेदन दिन पनि सक्नेछ । त्यस्तै, नागरिकता त्याग गरेको कारण मतदाता नामावलीमा नाम हटाउन आफैं वा एकाघरको परिवारको कुनै सदस्यले निवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम रहेका कुनै व्यक्तिउपर कसैले उजुरी दिन चाहेमा आवश्यक प्रमाणसहित सम्बन्धित निर्वाचन कार्यालयमा उजुरी दिने प्रबन्ध पनि मिलाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्