संघमा अटाएनन् स्याङ्जाका मन्त्री, प्रदेशमा भने २ जना



स्याङ्जा। 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विस्तार गरेको मन्त्रिपरिषद्मा स्याङ्जाका सांसद अटाएनन् । जिल्लाबाट प्रत्यक्ष निर्वाचित दुवै सांसद नेपाली काँग्रेसका भएकाले पनि अन्य पार्टीबाट केन्द्रमा नेतृत्व गर्ने साइत जुरेन । यसअघि नेपाली काँग्रेसका गोपालमान श्रेष्ठ लामो समयसम्म मन्त्री हुनुभएको थियो । त्यसपछि पनि स्याङ्जाले नेकपा एमालेबाट पद्मा कुमारी अर्याललाई मन्त्री पाइरह्यो । तर यस पटक भने जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने मन्त्री स्याङ्जाले पाएन ।

काँग्रेसले सरकारको नेतृत्व गरेको भए सायद स्याङ्जाले मन्त्री अवश्य पाउने थियो होला । जिल्लाबाट मन्त्रीको सूचीमा काङ्ग्रेसबाट प्रत्यक्ष निर्वाचित धनराज गुरुङको चर्चा थियो । गत मंसिर ४ को चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुँदा गुरुङ निर्वाचित हुनुभएको थियो । गुरुङ पहिलो पटक प्रत्यक्ष चुनाव लड्नुभएको थियो भने पद्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

जिल्लाबाट संघमा मन्त्री नपाए पनि गण्डकी प्रदेशको मन्त्रीमण्डलमा २ मन्त्री स्याङ्जाले पाएको छ । मुख्यमन्त्रीसहितको मन्त्रीपरिषद्मा सरकारको प्रवक्ता सहित २ मन्त्री स्याङ्जाका बनेका हुन् । सत्ता साझेदार मध्ये नेकपा एमालेतर्फका सीता सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ पहिलो पटक मन्त्री बन्नुभएको हो । उहाँहरू दुबैजना हाल बिनाविभागीय मन्त्री हुनुहुन्छ भने सुन्दासलाई प्रवक्ता समेतको जिम्मेवारी दिइएको छ ।

सुन्दास स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा १ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको हो । पुतलीबजार नगरपालिका ७ मा जन्मिनु भएकी उहाँ हाल पुतलीबजार १ मा बस्दै आउनुभएको छ । सुन्दास जिल्ला समन्वय समिति स्याङ्जाका निवर्तमान प्रमुख समेत हुनुहुन्छ । उहाँले नेकपा माओवादी केन्द्र सहितको काँग्रेस गठबन्धनतर्फका उम्मेदवार अमृता थापा मगरलाई पराजित गर्नुभएको थियो । यसैगरी गुरुङ  समानुपातिकतर्फका उम्मेदवार हुनुहुन्छ । उहाँ पुतलीबजार नगरपालिका ५ पौगेगौडे निवासी हुनुहुन्छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र एकीकृत समाजवादी सहितको बहुमत पु¥याएपछि प्रदेश सरकार बनेको हो । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको २७ सांसद भइकन पनि काँग्रेस प्रतिपक्षी दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्