राजविराज भन्सारमा ‘सुविधा पास’मा लुट



राजविराज । सप्तरीस्थित राजविराज भन्सार कार्यालयका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लुट मच्चाएको खुलेको छ । सेवाग्राहीबाट आएको गुनासोअनुसार बिहीबार नेपाल समाचारपत्रले गरेको ‘स्टिङ अप्रेसन’ बाट भन्सारका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लुट मचाएको विषय खुल्न आएको हो ।

भन्सार कार्यालयले निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नजिकको राजविराज र हनुमाननगर बजारसम्म आवतजावत गर्न ‘सुविधा पास’ उपलब्ध गराउँदै आएको छ । यो ‘सुविधा पास’ पाउन भारतीय सवारीधनीले कुनै पनि शुल्क बुझाउनु पर्दैन । तर, भन्सार कार्यालयका कार्यालय सहयोगी कैलु यादव र प्रभु बैंकमा कार्यरत सानुकुमार चौधरीले प्रति मोटरसाइकल २० भारु र चारपाङ्ग्रे सवारीमा ५० भारुसम्म असुल्ने गरेको पाइएको हो ।

बिहीबार दिउँसो रकम लिएर ‘सुविधा पास’ जारी गरिरहेको अवस्थामा फेला परेका चौधरीले आफू कार्यालय सहयोगी यादवको अनुरोधमा सुविधा पास जारी गरिरहेको बताउनुभयो । आफू भन्सारसँग सम्बन्धित कर्मचारी नभई बैंकमा कार्यरत रहेको बताउँदै उहाँले भन्नुभयो– ‘अहिले कार्यालय सहयोगी यादवले अनुरोध गरेपछि पास जारी गरिरहेको छु तर यसबापत आएको पैसा मेरो होइन, उहाँले नै लिनुहुन्छ ।’

केही बेरको लागि मात्रै पास जारी गर्ने कक्षमा बसेको दाबी गरेका चौधरीले दैनिक ४–५ सयसम्म रुपियाँ मात्रै आउने गरेको बताउन भने भ्याउनुभयो । ‘दिनभरिमा यहाँ ४–५ सय मात्रै हुन्छ सर, मैले त उहाँले भनेअनुसार नै गरेको हुँ, मेरो कुनै दोष छैन ।’ चौधरी प्रभु बैंकले भन्सार कार्यालयमै सञ्चालन गरेको काउन्टरमा जुनियर असिस्टेन्ट पदमा कार्यरत हुनुहुन्छ ।

केही बेरमै पास जारी हुने कक्षसम्म आइपुगेका कार्यालय सहयोगी यादवले पास जारी गर्दा निःशुल्क नै दिने गरेको दाबी गर्नुभयो । तर, उहाँको टेबुलमै पैसा देखेपछि भने कुरा मिलाउँदै यादवले भन्नुभयो– ‘पारिबाट आएकाहरूले आफैं खुसी भएर दिनुहुन्छ । हामीले जबरजस्ती गरेका छैनौं ।’ यादवले त्यहाँबाट दैनिक कति सुविधा पास जारी हुँदै आएको र आउने रकम कसले लिने गरेको विषय खुलाउन चाहनुभएन ।

श्रोतका अनुसार राजविराज भन्सार भएर दैनिक ६० वटाभन्दा बढी मोटरसाइकल र १० वटा जति चारपाङ्ग्रे सवारी धनीले ‘सुविधा पास’ लिएर नजिकको बजारसम्म आवतजावत गर्ने गर्छन् । सोही अनुपातमा हिसाब गर्दा मासिक झन्डै १ लाख रुपियाँ उठाउँछन् र सो रकम हाकिमसम्म पुग्ने गरेको बताउँदै स्रोतले भन्यो– ‘निःशुल्क पास दिनुपर्नेमा खुलेआम रकम उठाइरहेको विषय हाकिमसम्मलाई थाहा छ । तर, कहीँ कतै सुन्नुभयो कारबाही भयो भनेर ?’

भन्सार कार्यालयका निमित्त प्रमुख अजय प्रकाश भगतले रकम लिएको पुष्टि भएको खण्डमा पहिलो पटकलाई सचेत गराइने जिकिर गर्दै भन्नुभयो– ‘रकम उठाइरहेको विषयमा आफूलाई जानकारी छैन तर पुष्टि भयो भने पहिलोपटकलाई सचेत गराउँछु र पनि अटेर गरेको पाइए कारबाही हुन्छ । रकम लिएकै हो भने त्यसमा कुनै पनि हिसाबले मेरो संलग्नता छैन ।’

प्रभु बैंक राजविराज शाखाका प्रबन्धक अशोक निरौलाले आफ्ना बैंकका कर्मचारीमाथि छानबिन गरी माथि रिर्पोटिङ्ग गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्