विधि र पद्धतिभन्दा बाहिर गएर काम गर्दैनौं : गृहमन्त्री लामिछाने



काठमाडौँ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले विधि र पद्धतिभन्दा बाहिर गएर काम नगर्ने बताएका छन् । बिहीबार संसद्‍मा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि सदनमा उपस्थित भएको उल्लेख गरेपछि गृहमन्त्री लामिछानेले त्यसको जवाफ दिएका हुन् ।

कर्मचारी सरुवा बढुवा र कानुनी शासनको पालनामा कुनै कसर बाँकी नराख्ने गृहमन्त्री लामिछानेले बताए । लामिछानेले भने, ‘माननीय सांसदज्युले फरार रहनु भएका मानिस संसद्मा हुनुहुन्छ भन्नुभयो । विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले काम गर्नेछैन । कर्मचारीको सरुवा बढुवामा भनसुनका आधारमा चल्ने छैन । कुनै पनि दबाब र प्रलोभनमा काम हुने छैन । विधि र पद्धतिभन्दा बाहिर गएर काम हुने छैन ।’

कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।

प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्