सुदूरपश्चिम : सभामुखमा नागरिक उन्मुक्तिले गठबन्धनलाई मतदान गर्ने



धनगढी।

सुदूरपश्चिम प्रदेशमा रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सत्तारुढ गठबन्धनलाई मत दिने भएको छ। नेकपा एमाले नेतृत्वको सत्तारूढ गठबन्धनमा निर्णायक शक्ति रहेको नागरिक उन्मुक्ति पार्टीले सभामुखमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको हो।

स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई मतदान गर्न समझदारी भएको छ। यस्तै पार्टी केन्द्रले प्रदेशसभा सदस्यहरूलाई मतदानका लागि निर्देशनसमेत दिएको छ।

साेमबार उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधारीकाे उपस्थितिमा धनगढीमा बैठक बसेरै गठबन्धनका उम्मेदवार भण्डारीलाई मतदान गर्न निर्देशन दिइएको हो।

उक्त पार्टीका प्रतिनिधिसभाका सचेतक अरूणकुमार चाैधरीले (भोलि) मंगलबार सुदूरपश्चिम प्रदेशसभाले सभामुखमा पाउने बताए।

तर, प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चाैधरीले भने निर्णय हुन बाकी रहेको जनाउँदै सांसदहरूसँग छलफल मात्र गरिएको बताए।

यसअघि सुदूरपश्चिम प्रदेशभामा ३० गते सभामुख चयनका लागि भएकाे मतदानमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बस्दा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन्। साेमबार पुन: मतदान गर्ने कार्यसूची भएपनि राष्ट्रिय शाेकका कारण बैठक बस्न सकेन। भाेलि बिहान १० बजे बैठक बस्ने सर्वदलीय बैठकले समझदारी गरेकाे छ।

यसअघि २८ गते सभामुख चयनका लागि भएकाे मतदानमा पनि एमाले गठबन्धनका भण्डारी र कांग्रेस गठबन्धनका मानबहादुर रावलले बहुमत नल्याउदा मतदान दाेस्रो चरणमा गएकाे थियाे।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्